१५ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने प्रयास तीव्र रूपमा भइरहेको र केही दिनभित्रै यसको सकारात्मक परिणाम देखिने बताएकी छन्।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले हालको स्वरुपमा बीमा कार्यक्रम अघि बढ्न नसक्ने भएकाले सुधारको काम अगाडि बढाइएको स्पष्ट पारिन्।
उनले निःशुल्क पाइने उपचारमा समेत बिरामीलाई बीमामार्फत भुक्तानी गर्न बाध्य पार्दा स्रोतको दुरुपयोग हुने जोखिम देखिएको उल्लेख गरिन्। साथै, स्वास्थ्य कर कोषमा संविधानले तोकेअनुसार रकम सुनिश्चित भए पनि प्राप्त हुने रकम अत्यन्त न्यून रहेकोप्रति उनले गुनासो गरिन्।
मन्त्री गौतमले कतिपय अवस्थामा औषधिको मूल्य बीमातर्फ अत्यधिक महँगो राखिँदा राज्य र सेवाग्राही दुवैलाई बोझ परेको भन्दै त्यसमा सुधार भइरहेको जानकारी दिइन्।
कार्यक्रममा उनले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक अभाव हुन नदिने र मन्त्रालयको तर्फबाट हुनुपर्ने भुक्तानी रोकिन नदिने प्रतिबद्धता व्यक्त गरिन्।







प्रतिक्रिया