मूलपानीमा प्रहरीको गोली प्रहारपछि १० जना लुटेरा पक्राउ, एक घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रहरीले काठमाडौँको मूलपानी क्षेत्रमा गोली प्रहार गर्दै १० जना लुटेरालाई पक्राउ गरेको छ। प्रहरीको गोली लागेर एकजना लुटेरा घाइते भएका छन् भने घटनामा ड्युटीमा खटिएका दुई प्रहरीसमेत घाइते भएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार घटना गएराति करिब १२ः१५ बजे भएको हो। मध्यराति मूलपानीमा प्रहरी टोलीले चेकप्वाइन्ट खडा गरेर चेकजाँच गरिरहेको बेला मोटरसाइकलमा आएका समूहले चेकप्वाइन्टमा ड्युटीमा रहेका प्रहरीलाई ठक्कर दिँदै भाग्न खोजेपछि प्रहरीले बाध्य भएर गोली चलाउनु परेको उनले बताए।

गोली लागेर एकजना लुटेरा घाइते भएका छन्। सोही क्रममा प्रहरीले उनीसहित थप १० जनालाई नियन्त्रणमा लिएको हो। मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका सहायक हबलदार मोहन भट्ट र प्रहरी जवान पुष्पराज भण्डारी घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरू काठमाडौँमा भएका विभिन्न लुटपाटका घटनामा संलग्न समूह भएको प्रहरीको दाबी छ। एसपी भट्टराईका अनुसार विभिन्न समयमा भएका लुटपाटका घटनाको खोजतलासका क्रममा सो समूह पक्राउ परेको हो। घटनासँग सम्बन्धित थप लुटेराको खोजी र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूको नाम हाल सार्वजनिक गरेको छैन। उनीहरू सबै काठमाडौँ प्रहरी परिसरको हिरासतमा रहेका छन् भने गोली लागेका युवकको अवस्था पनि सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण पछि सार्वजनिक गरिने एसपी भट्टराईले बताए।