आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मामाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिस्पर्धी गणेश कार्कीले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
चुनावी प्रचारका क्रममा शर्माले आफ्नो क्षेत्रमा दिएको स्वास्थ्य सेवालाई ‘प्रोपोगाण्डा’ बनाउँदै निर्वाचनमा जिताइदिए अस्पतालमा होटल डिलक्स रुम जस्तै सेवा दिने अभिव्यक्ति दिएपछि कार्कीको प्रतिक्रिया आएको हो। कार्कीले शर्माको उक्त अभिव्यक्ति समेटिएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै प्रश्न उठाएका छन्।
कार्कीले लेखेका छन्, “जित्दा यसो गर्ने रे, तर हार्दा अहिले दिएका भनिएका जत्ति पनि सेवा बन्द गर्ने हो भने चाहिँ म मेरो उम्मेदवारी फिर्ता लिन्छु। म एकथान सांसद बन्न कसैले पनि दुःख नपाओस्।”
उनले शर्मालाई थप चुनौती दिँदै भनेका छन्, “जित्नु भयो भने सेवा थपिदिनु हुन्छ भने ठीक छ, तर हार्नु भयो भने सेवा बन्द गर्नु हुन्छ कि हुन्न भनेर कसैले सोधी दिनु होला।”
मोरङ–३ मा शर्माका लागि कडा चुनौतीको रूपमा हेरिएका कार्कीको उक्त टिप्पणीले चुनावी बहसलाई थप चर्काएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सो क्षेत्रमा दल र उम्मेदवारहरू प्रचार–प्रसारमा व्यस्त छन्।







प्रतिक्रिया