नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुरानै राजनीतिक पार्टीहरूबीच प्रतिस्पर्धा हुने बताएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नयाँभन्दा पनि परम्परागत रूपमा स्थापित पार्टीहरूसँगै प्रतिस्पर्धा हुने धारणा राखे।
‘यो गम्भीर कुरा पनि हो। अन्ततः मतदाताले भोट हालेर निर्धारण गर्ने विषय हो,’ चालिसेले भने, ‘तर, आगामी निर्वाचनमा पुरानै पार्टीबीच प्रतिस्पर्धा हुन्छ भन्ने हाम्रो ठम्याइ छ।’
प्रवक्ता चालिसेले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित पार्टीले निर्वाचन अभियानलाई तीव्र बनाएको जानकारी दिए। पार्टीले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र चुनावी तयारीलाई प्राथमिकतामा राखेर अघि बढेको उनको भनाइ थियो।
कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको जानकारी दिँदै चालिसेले पार्टीका नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकता दिँदै जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिने बताए। उनले लोकतन्त्र, संविधानको रक्षा र समावेशी विकास कांग्रेसको मुख्य एजेन्डा रहेको उल्लेख गरे।







प्रतिक्रिया