भारतको पश्चिम बंगालको राजधानी कोलकाताको आनन्दपुर क्षेत्रमा रहेका दुई गोदाममा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। आगो अझै पूर्ण रूपमा नियन्त्रणमा नआएकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
गोदाममा काम गर्ने कम्तीमा २० जनाका परिवारले आफ्ना आफन्त सम्पर्कविहीन भएको भन्दै प्रहरी चौकीमा हराएको उजुरी दर्ता गराएका छन्।
कोलकाता प्रहरीका अनुसार अहिलेसम्म भेटिएका ८ जनाको शव नराम्ररी जलेको अवस्थामा फेला परेका छन्, जसका कारण पहिचान गर्न कठिनाइ भइरहेको छ।
अग्नि नियन्त्रक स्रोतका अनुसार आगलागी भएको गोदाम एक प्रसिद्ध मोमो कम्पनीको स्वामित्वमा रहेको र त्यहाँ पेय पदार्थ तथा सुख्खा खानाका प्याकेजहरू भण्डारण गरिएको थियो।
आइतबार साँझ करिब ३ बजे आगलागीको खबर आएको थियो। झन्डै एक दर्जन दमकल परिचालन गरिए पनि आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
बरुईपुरका प्रहरी उपरीक्षक शुभेन्द्र कुमारले भने, “अहिले नै जनधनको क्षतिको सही तथ्यांक दिन सम्भव छैन। घटनाको अनुसन्धान भइरहेको छ, त्यसपछि मात्र यकिन विवरण सार्वजनिक हुनेछ।”
घटनास्थलको निरीक्षण गरेका अग्नि नियन्त्रक मन्त्री सुजित बसुले दुवै गोदाम ठूलो क्षेत्रफलमा फैलिएको र आगो कसरी सुरु भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए। उनले रातिको समयमा गोदाममा यति धेरै मानिस किन उपस्थित थिए ? भन्ने प्रश्नसमेत उठाएका छन्।
यस घटनालाई लिएर राजनीतिक विवाद पनि चर्किँदै गएको छ भने स्थानीय प्रशासनले सुरक्षा र उद्धार कार्यलाई प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाइरहेको जनाएको छ।







प्रतिक्रिया