दल र उम्मेदवारहरू आ–आफ्नो चुनावी रणनीति बनाउन व्यस्त छन्। तर, भक्तपुरकी १८ वर्षीया एकता साहका लागि राजनीति, रणनीति र भाषणहरू अहिले टाढा छन्। विडम्बना यही हो—आज ती व्यक्ति र दल चुनावी मैदानमा उत्रन सक्ने वातावरण बनाउन उनैजस्ता युवाहरू सडकमा उत्रिएका थिए। त्यसैको परिणाम, एकता आज खुट्टामा गोली बोकेर घरमै थन्किएकी छन्।
१२ कक्षा सकेर चिकित्सक बन्ने सपनामा अघि बढिरहेकी एकता गत २३ भदौ काठमाडौंको नयाँ बानेश्वरमा भएको जेन–जी प्रदर्शनका क्रममा घाइते भइन्। खुट्टामा गोली लाग्यो। अहिले उनी अलिअलि हिँड्न सक्छिन्, तर खुट्टा पूरै सन्चो हुने–नहुने अझै यकिन छैन। एउटा शल्यक्रिया गर्नै बाँकी छ।
सबैभन्दा पीडादायी पक्ष—गोली लागेर घाइते भएकी एकतालाई भेट्न न त कुनै जेन–जी अगुवा पुगे, न त प्रधानमन्त्री वा सांसद बन्ने दौडमा रहेका नेताहरू नै। सबैको एजेन्डा ‘देश बनाउने’ छ। तर, ‘देश साँच्चिकै बन्नुपर्छ’ भन्दै सडकमा उत्रिएकी एकतालाई कसैले सोध्न आएको छैन—तिम्रो स्वास्थ्य कस्तो छ ?
‘आई लभ स्टडी’ले भरिएको कोठा, तर पाँच महिना पुग्न नसकेको स्टडी रुम
एकताको कोठाभरि सन्देश टाँसिएका छन्—‘अब त टुप्पी कसेर पढ्ने हो’, ‘आई लभ स्टडी’, ‘आई क्यान डु दिस।’ पढ्न रुचाउने उनले हातैले चित्र र शब्द कोरेर कोठा सजाएकी थिइन्। तर, यही स्टडी रुममा करिब पाँच महिनादेखि उनी पुग्न सकेकी छैनन्।
किताबहरू छरपष्ठ छन्। भित्तामा गणितका सूत्र र विज्ञानका नोटहरू स्टीकी नोटमा टाँसिएका छन्। विद्यार्थी जीवनमा उनी जहिल्यै अब्बल—किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय। कोठाभरि उनले पाएका पुरस्कारहरू सजिएका छन्। सैनिक आवासीय महाविद्यालयको क्यालेन्डर झुण्डिएको छ। कक्षा १२ मा ए प्लस ल्याएको दिन सम्झिँदै उनले त्यही क्यालेन्डरमा लेखेकी थिइन्—‘थ्यांक यु युनिभर्स !’
चोटसँग जुध्दै पनि सीईई पास
अस्पतालको लामो बसाइपछि खुट्टामा चोट लिएर घर फर्किँदा पनि एकताको आँखामा आत्मविश्वास देखिन्छ। हिँड्न नसक्ने अवस्थामै उनले चिकित्सक बन्ने बाटोको पहिलो ढोका—सीईई परीक्षा दिइन् र नामसमेत निकालिन्।
आमा बुनु शाहीले विज्ञानका पुस्तक र नोट छोरीको खाटसँगै राखिदिएकी छन्। तर, चोटले थिचेको मनका कारण एकताको ध्यान अब पहिलाझैँ किताबमा बस्न सकेको छैन। ‘खोई, यो खुट्टा ठीक हुने हो कि होइन ?’—यही प्रश्नले उनलाई बारम्बार घेरिरहन्छ। आमा भने छोरीको हिम्मत बनेर उभिरहेकी छन्।
टिकटकबाट सडकसम्म
तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि टिकटक सूचनाको माध्यम बन्यो। त्यही टिकटकमार्फत २३ भदौ नयाँ बानेश्वरमा भ्रष्टाचारविरुद्ध प्रदर्शनको सूचना फैलियो। ‘नेपो बेबी’ ट्रेन्डले सामाजिक सञ्जाल तताइरहेको थियो। ती भिडियोहरूले एकतालाई पनि सडकमा उत्रन प्रेरित गरे।
त्यो बिहान, एकता कलेज ड्रेसमै तयार भइन्। घरमै भएको हेल्मेट लगाइन्, पानीको बोतल बोकिन्—र ‘देश बदलिन्छ’ भन्ने विश्वास बोकेर बानेश्वरतिर लागिन्। फर्किँदा भने, उनीसँग गोलीको चोट मात्र रह्यो।
मौन प्रश्न
आज चुनाव नजिकिँदै छ। भाषण, नाराबाजी र भीड बाक्लिँदै गएको छ। तर, एकताको कोठामा मौनता छ।
उनको प्रश्न सरल छ—देश बनाउने राजनीति, तर देश बनाउन खोज्दा गोली खाने युवाको जिम्मा कसले लिन्छ ?







प्रतिक्रिया