राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह कैलाली क्षेत्र नम्बर–२ को चुनावी कार्यक्रमका क्रममा घण्टीघरमा नरोकिएर अघि बढेपछि त्यहाँ भेला भएका कार्यकर्ता तथा समर्थक निराश भएका छन्।
बालेन शाह आउने खबरपछि बिहानैदेखि बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया बजारमा रहेको क्षेत्र नम्बर–२ को घण्टीघरमा कार्यकर्ता र समर्थकहरू जम्मा भएका थिए। बालेनको स्वागतका लागि रास्वपा बर्दगोरिया क्षेत्रीय समितिले स्वागत तथा अभिवादन कार्यक्रमसमेत तय गरेको थियो।
तर, शाह साढे ९ बजेतिर बौनिया पुगे पनि उनी घण्टीघरमा नरोकिएपछि कार्यक्रम प्रभावित भयो। बालेन नरोकिने घटनापछि केही समर्थकहरूले व्यवस्थापनमा कमजोरी भएको भन्दै कैलाली–२ का रास्वपा उम्मेदवार **केपी खनाल**प्रति असन्तुष्टि व्यक्त गरेका छन्।
यस विषयमा उम्मेदवार खनालले समन्वय अभावका कारण समस्या आएको स्वीकार गरेका छन्।
उनले भने, “यहाँ उहाँलाई स्वागत गर्दै भेटघाट गर्ने कार्यक्रम राखिएको थियो। तर हामी साथीहरूलाई व्यवस्थापन गर्ने क्रममा पछि पर्यौँ। समस्या ठूलो होइन, समन्वय अभावले उहाँ यहाँ नरोकिनु भयो। अब हामी उहाँलाई फेरि ल्याउँछौँ।”
रास्वपाबाट उम्मेदवार बनेका केपी खनाललाई बालेन शाहकै समर्थन रहेको बताइन्छ। पार्टी नेताहरूका अनुसार बालेन शाह अछामसम्म पुगेर फर्किने कार्यक्रम तय भएको र आगामी दिनमा कैलाली–२ मा पुनः कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ।







प्रतिक्रिया