निर्वाचन समाचारमा आधिकारिक स्रोत मात्र प्रयोग गर्न आयोगको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त **रामप्रसाद भण्डारी**ले आगामी **प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२**लाई लक्षित गर्दै सञ्चार माध्यमहरूलाई समाचार तथा सूचना प्रवाह गर्दा आधिकारिक स्रोतलाई मात्र आधार बनाउन आग्रह गरेका छन्।

**सार्वजनिक सेवा प्रसारण नेपाल**ले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ कार्यक्रममा बोल्दै प्रमुख आयुक्त भण्डारीले निर्वाचनका बेला भ्रामक तथा अपुष्ट समाचार फैलिन सक्ने जोखिम उच्च हुने भएकाले सञ्चार माध्यमहरू सचेत हुनुपर्ने बताए।

उनले भने, ‘नागरिकलाई यतिबेला अत्यन्त सत्यतथ्य समाचार सामग्रीको खाँचो छ। त्यसैले सञ्चार माध्यमले निर्वाचन आचारसंहिताको पालना गर्ने र गराउने दुवै भूमिका निर्वाह गर्नुपर्छ। सकेसम्म निर्वाचनसम्बन्धी समाचार लेख्दा आधिकारिक स्रोतमा मात्रै आधार बनाउनुहुन अनुरोध गर्दछु।’

एआई दुरुपयोग रोक्न सामाजिक सञ्जालसँग सहकार्य

प्रमुख आयुक्त भण्डारीले पछिल्लो समय डिजिटल प्लेटफर्म र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी सामाजिक सञ्जालमा कसैको छविमा आँच पुग्ने खालका श्रव्य–दृश्य सामग्री फैलिन थालेको उल्लेख गरे। यस्तो अवस्थालाई नियन्त्रण गर्न निर्वाचन आयोगले मेटा, टिकटकलगायत सामाजिक सञ्जाल कम्पनीहरूसँग सम्झौता गर्न लागेको जानकारी पनि दिए।

सञ्चार माध्यमको निगरानी भूमिका

कार्यक्रममा निर्वाचन आयोगका सचिव **कृष्णबहादुर राउत**ले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने दायित्व सञ्चार माध्यमको पनि हुने बताए। उनले विशेषगरी नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति (रासस) जस्ता सरकारी सञ्चार माध्यमले सत्य र आधिकारिक समाचार सम्प्रेषणमा थप जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

निर्वाचन सफल पार्न सञ्चारमाध्यमको अहम भूमिका

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव **लक्ष्मीकुमारी बस्नेत**ले आसन्न निर्वाचनका क्रममा नागरिकलाई सही सूचना दिन र निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यमको भूमिका निर्णायक हुने बताइन्।

त्यसैगरी, सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष **डा. महेन्द्र विष्ट**ले निर्वाचन आचारसंहितासँगै पत्रकारको आचारसंहितालाई पनि ध्यानमा राखेर जिम्मेवार पत्रकारिता गर्न सञ्चारकर्मीहरूलाई सुझाव दिए।

आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउने उद्देश्यले आयोग र सञ्चार माध्यमबीच सहकार्य र जिम्मेवारी अझ सुदृढ हुनुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिएका थिए।