‘क्याप्टेन फर क्लिन पोलिटिक्स’ अभियानमा छु : डा. शेखर कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता **डा. शेखर कोइराला**ले युवाको माग र मुद्दा सम्बोधनका लागि आफूले विगत लामो समयदेखि निरन्तर आवाज उठाउँदै आएको बताएका छन्।

**विराटनगर**मा युवासँग आयोजित अन्तर्क्रियामा बोल्दै नेता कोइरालाले जेन–जी आन्दोलन सुरु हुनुअघि नै पार्टीभित्र तथा राज्य संरचनामा युवाको प्रतिनिधित्व सुनिश्चित गर्न आफूले पहल गर्दै आएको बताए। जस्तोसुकै परिस्थिति आए पनि सुशासनको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्दै उनले आफू ‘क्याप्टेन फर क्लिन पोलिटिक्स’ अभियानमा लागेको स्पष्ट पारे।

‘युवाको माग र मुद्दामा मैले कहिल्यै कञ्जुस्याइँ गरिनँ,’ कोइरालाले भने, ‘पार्टीभित्र होस् वा राज्यका नीति निर्माण तहमा, युवाको सहभागिता अनिवार्य छ भन्नेमा म सधैं स्पष्ट छु।’

युवाको प्रतिनिधित्वका लागि तीन तहको अवधारणा

नेता कोइरालाले जेन–जी आन्दोलनभन्दा धेरै पहिलेदेखि नै युवालाई नीति निर्माण र राज्य संरचनामा निर्णायक भूमिकामा ल्याउनुपर्ने धारणा राख्दै आएको बताए। उनले युवाको प्रतिनिधित्वलाई तीन तहमा विभाजन गर्दै अवधारणा प्रस्तुत गरेका थिए।

उनका अनुसार

  • केन्द्रीय तहमा कम्तीमा २० प्रतिशत,
  • प्रदेश तहमा ३० प्रतिशत,
  • स्थानीय तहमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ।

‘त्यो गर्न सकियो भने मात्रै युवालाई यही देशमा राख्न सकिन्छ,’ उनले भने, ‘नत्र निराशा बढ्दै जान्छ र देशले आफ्नो ऊर्जाशील शक्ति गुमाउँदै जान्छ।’

१४औँ महाधिवेशनमा युवालाई जिताएको दाबी

कोइरालाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा युवालाई प्राथमिकतामा राखेर नेतृत्व तहमा जिताउन भूमिका खेलेको पनि दाबी गरे।

‘मुलुकलाई विकाससँगै जनतामा आशा जगाउनकै लागि युवालाई नै पार्टीको नेतृत्वमा ल्याउनुपर्छ भन्ने मेरो विश्वास हो,’ उनले भने, ‘त्यसैले महाधिवेशनमा पनि युवालाई जिताउने पक्षमा उभिएँ।’

नेता कोइरालाले अन्तर्क्रियाको क्रममा युवाहरूलाई राजनीतिप्रति निराश नभई स्वच्छ, पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासका लागि सक्रिय हुन आग्रह गरे।