सुशासन र भ्रष्टाचार नियन्त्रण अध्ययनका लागि आएको आईएमएफको प्राविधिक टोली नेपाल भ्रमण सकेर फर्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली सरकारी अधिकारीहरूको आग्रहमा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि आधारभूमि तयार गर्न नेपाल आएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को प्राविधिक टोली आफ्नो अध्ययन पूरा गरी फर्किएको छ।

जोनादन पाम्पोलिनाको नेतृत्वमा आएको टोलीले जनवरी १२ देखि २१ सम्म नेपालमा रहेर विभिन्न सरोकारवाला निकायसँग भेटवार्ता तथा छलफल गरेको आईएमएफले जनाएको छ। टोली नेपाली अर्थतन्त्रका सबल र दुर्बल पक्ष पहिचान गर्ने लक्ष्यसहित नेपाल आएको थियो।

आईएमएफका अनुसार टोलीले करिब ९ दिनको अध्ययनपछि प्राप्त निष्कर्ष समेटिएको प्रतिवेदन चाँडै सार्वजनिक गर्नेछ। सो प्रतिवेदनमा सुधारका आवश्यक पहल र कार्ययोजना सिफारिस गरिने जनाइएको छ।

टोलीले आईएमएफको सन् २०१८ मा ल्याइएको ‘इन्ह्यान्स्ड गभर्नेन्स फ्रेमवर्क’ अन्तर्गत सुशासन र भ्रष्टाचारको जोखिम रहेका क्षेत्रहरू पहिचान गर्दै जीसीडी (Governance and Corruption Diagnostic) का लागि आधारभूत कार्यनिर्धारणमा केन्द्रित भएर छलफल गरेको थियो।

यस क्रममा टोलीले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, संवैधानिक परिषद्, सर्वोच्च अदालत, न्याय परिषद्, लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महान्यायाधिवक्ताको कार्यालय, महालेखा परीक्षकको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, राष्ट्रिय सतर्कता केन्द्र, वित्तीय सूचना केन्द्र, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, विशेष अदालतलगायत निकायसँग विस्तृत छलफल गरेको थियो।

छलफलका क्रममा व्यावसायिक तथा प्रशासनिक क्षेत्रका चुनौती, सुशासन प्रवर्द्धनका प्रयास र भ्रष्टाचार नियन्त्रणका विद्यमान पहलहरूबारे अन्तरक्रिया भएको आईएमएफले जनाएको छ।

आईएमएफले भ्रष्टाचारविरुद्ध सुशासन सुदृढ गर्न नेपालले व्यक्त गरेको प्रतिबद्धताप्रति सन्तुष्टि व्यक्त गरेको छ। साथै, आगामी महिनामा पुनः जीसीडी मिसन सञ्चालन गरिने र त्यसपछि विस्तृत प्रतिवेदन सार्वजनिक गरिने जनाएको छ।

प्रतिवेदनले नेपालमा भ्रष्टाचारको प्रकृति, अवस्था, सरकारका कमजोरी तथा जोखिमयुक्त क्षेत्रहरूको पहिचान गर्ने र भ्रष्टाचार नियन्त्रणका प्रयासमा सहयोगी भूमिका खेल्ने आईएमएफको अपेक्षा रहेको छ।