ओलीको अभिव्यक्तिप्रति योगेश भट्टराईको आपत्ति, भने– ‘चिन्तित र दुःखी छु’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमलाई दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

अध्यक्ष ओलीले निर्वाचन जित्ने आधार भएका उम्मेदवारलाई मात्रै टिकट दिइएको दाबी गर्दै योगेश भट्टराईको जित्ने आधार नदेखिएको प्रतिक्रिया दिएका थिए। त्यसप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले अध्यक्षको भनाइले आफू चिन्तित र दुःखी भएको बताएका छन्।

भट्टराईले लेखेका छन्, ‘यत्ति भन्छु अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु। कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लिएको होला भन्ने मलाई विश्वास छैन।’

अध्यक्ष ओलीले योगेश भट्टराई र सुरेन्द्र पाण्डेको जित्ने अवस्था नरहेको तथा विन्दा पाण्डेको उम्मेदवारीको आधार नदेखिएको भन्दै यसपटक टिकट नदिइएको बताएका थिए। यस्तै, अर्का नेता गोकुल बास्कोटाले टिकट नपाउनुको कारण कार्यकर्ता पंक्तिमा विभाजन बढाएको उल्लेख गरेका थिए।

उपमहासचिव भट्टराईले भने आफू अहिले पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने अभियानमै केन्द्रित रहेको र विचलित नभएको स्पष्ट पारेका छन्।

उनले लेखेका छन्, ‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न। मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो। नो इफ, नो बट— म विचलित र निरास छैन।’