जापानमा संसद विघटन, प्रधानमन्त्री सानाए ताकाइचीद्वारा फेब्रुअरी ८ मा मध्यावधि निर्वाचन घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो — जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले संसदको तल्लो सदन विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी छन्। यस निर्णयसँगै जापानमा आगामी फेब्रुअरी ८ मा आम निर्वाचन हुने भएको छ।

प्रधानमन्त्री ताकाइचीले हाल कायम आफ्नो उच्च लोकप्रियताको फाइदा उठाउँदै सत्तारुढ दलको आधार थप बलियो बनाउने उद्देश्यले मध्यावधि निर्वाचनको निर्णय लिएको बताइएको छ। तर, यस कदमको आलोचना पनि सुरु भएको छ। कमजोर अवस्थामा रहेको जापानी अर्थतन्त्र सुधार र बढ्दो महँगी नियन्त्रणका लागि प्रस्तावित बजेट पारित प्रक्रियामा ढिलाइ हुने भन्दै विपक्षी दल तथा केही विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।

गत अक्टोबरमा जापानकी पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित ताकाइचीको लोकप्रियता पछिल्लो समय करिब ७० प्रतिशत पुगेको जनमत सर्वेक्षणले देखाएको छ। तर, सन् २०२४ को निर्वाचनमा ठूलो क्षति व्यहोरेपछि सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र उसका गठबन्धन दलहरू तल्लो सदनमा झिनो बहुमतमा सीमित छन्।

माथिल्लो सदनमा बहुमत नहुँदा सरकारले आफ्ना नीति तथा कार्यक्रम अघि बढाउन विपक्षी दलको समर्थन लिनुपर्ने अवस्था कायम छ। यही राजनीतिक जटिलताबीच प्रधानमन्त्री ताकाइचीले जनमत पुनः परीक्षण गर्ने निर्णय लिएको बताइएको छ।

मध्यावधि निर्वाचन घोषणा गर्दै ताकाइचीले भनिन्, “प्रधानमन्त्रीका रूपमा म उपयुक्त छु कि छैन भन्ने निर्णय जनताले नै गर्नुपर्छ।” उनले थपिन्, “यस निर्वाचनमा म आफ्नो राजनीतिक करियर नै दाउमा राख्दै छु।”

कट्टरपन्थी रुढिवादी नेतृका रूपमा चिनिने ताकाइचीले आफ्ना पूर्ववर्ती प्रधानमन्त्री शिगेरु इशिबाभन्दा फरक नीति अवलम्बन गर्दै उच्च सरकारी खर्च, सैन्य क्षमता विस्तार तथा कडा आप्रवासन नीतिमार्फत जापानलाई ‘बलियो र समृद्ध’ राष्ट्र बनाउने प्रतिबद्धता जनाएकी छन्।

मध्यावधि निर्वाचनको घोषणासँगै जापानको राजनीतिक वातावरण थप तातिने संकेत देखिएको छ।