आँखा झिम्क्याउन नपाउँदै फिल्म डाउनलोड हुने इन्टरनेट स्पीड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्टरनेटको गति सुन्दा अब विज्ञान–कथाजस्तै लाग्ने उपलब्धि हासिल भएको छ। आँखा झिम्क्याउन लाग्ने समयभन्दा पनि सय गुणा कम समयमा पूरै फिल्म वा ठूलो साइजको अनलाइन गेम डाउनलोड गर्न सकिने इन्टरनेट स्पीडमा वैज्ञानिकहरूले नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

बेलायतको एस्टन युनिभर्सिटी र जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड कम्युनिकेशन्स टेक्नोलोजी (NICT) का वैज्ञानिकहरूले संयुक्त रूपमा ४ लाख ३० हजार गिगाबाइट प्रतिसेकेण्ड (४३० टेराबाइट प्रतिसेकेण्ड) को इन्टरनेट गति हासिल गरेका हुन्। यो अहिलेसम्मकै सबैभन्दा तीव्र डेटा ट्रान्सफर गति हो।

यो स्पीड यति छिटो छ कि करिब ८० गिगाबाइटको एउटा अनलाइन गेम मात्र १ मिलिसेकेन्डमा डाउनलोड गर्न सकिन्छ। सामान्यतया मानिसले आँखा झिम्क्याउन १०० देखि ४०० मिलिसेकेन्ड समय लिन्छ, अर्थात् आँखा झिम्क्याउनुअघि नै ठूलो फाइल डाउनलोड भइसक्ने अवस्था हो।

नयाँ केबल बिना नै गति वृद्धि

यस खोजको सबैभन्दा विशेष पक्ष भनेको यसका लागि कुनै नयाँ वा विशेष अप्टिकल फाइबर केबल आवश्यक नपर्नु हो। हाल विश्वभर प्रयोग भइरहेका ‘स्ट्यान्डर्ड अप्टिकल फाइबर’ केबलमै प्रविधिगत सुधार गरेर यस्तो तीव्र गति हासिल गरिएको हो। वैज्ञानिकहरूले प्रकाश तरंगका ती भागहरू प्रयोग गरेका छन्, जसलाई यसअघि प्रयोगयोग्य मानिँदैनथ्यो। यस प्रविधिले कम ब्यान्डविथमै धेरै डेटा पठाउन सम्भव बनाएको छ।

यसअघिका सबै रेकर्ड तोडिए

यो कीर्तिमान बनाउने वैज्ञानिक टोलीले यसअघि पनि ४०२ टेराबाइट प्रतिसेकेण्डको गति हासिल गरिसकेको थियो। जापानमा गरिएको अर्को परीक्षणमा ९१ हजार किलोमिटर लामो दूरीमा १.०२ पेटाबिट्सको इन्टरनेट गति परीक्षण गरिएको थियो। त्यस्तै, नेदरल्याण्डका वैज्ञानिकहरूले केबल प्रयोग नगरी हावामै प्रकाश किरणमार्फत ५.७ टेराबिटको गति सफलतापूर्वक परीक्षण गरेका थिए। तर हालको ४३० टेराबाइट प्रतिसेकेण्डको उपलब्धिले यी सबै रेकर्ड तोडेको छ।

सेभेन–जी अनुसन्धानका लागि महत्वपूर्ण

डेनमार्कमा आयोजित ५१औँ अप्टिकल कम्युनिकेशन सम्मेलनमा प्रस्तुत गरिएको यस अनुसन्धानले हालको अप्टिकल फाइबर प्रविधिमा अझै अपार सम्भावना रहेको देखाएको छ। यही कारणले यसलाई भविष्यको वायरलेस प्रविधि, विशेषगरी सेभेन–जी (7G) अनुसन्धानका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।

यद्यपि वैज्ञानिकहरू भन्छन्— यी सबै उपलब्धिहरू नियन्त्रित ल्याबको वातावरणमा हासिल गरिएका हुन्। त्यसैले यस प्रविधिलाई सस्तो, टिकाउ र आम प्रयोगमा ल्याउन अझै धेरै समय, अनुसन्धान र लगानी आवश्यक पर्नेछ। तर इन्टरनेटको भविष्य अकल्पनीय रूपमा तीव्र हुँदै गएको संकेत भने यसले स्पष्ट रूपमा दिएको छ।