विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले च्याटजीपीटी निर्माता कम्पनी ओपनएआई र माइक्रोसफ्टविरुद्धको कानुनी लडाइँलाई थप तीव्र बनाएका छन् । ब्लूमबर्गको रिपोर्टअनुसार मस्कले यी कम्पनीहरूसँग ७९ अर्ब डलरदेखि १३४ अर्ब डलरसम्म क्षतिपूर्ति माग गरेका हुन् ।
मस्कले ओपनएआईले गैरनाफामूलक उद्देश्यबाट विचलित भई माइक्रोसफ्टसँग साझेदारी गरेर आफूलाई धोखा दिएको आरोप लगाएका छन् । उनका वकिलहरूले शुक्रबार अदालतमा दायर गरेको निवेदनमा वित्तीय अर्थशास्त्री सी. पल वजनको गणनालाई आधार बनाउँदै ओपनएआईको करिब ५ खर्ब डलर आँकलित बजार मूल्यमा मस्कको पनि हक रहने दाबी गरेका छन् । सन् २०१५ मा सह–संस्थापकका रूपमा ३८ मिलियन डलर लगानी गरेका मस्कले त्यसकै आधारमा ठूलो क्षतिपूर्ति माग गरेका हुन् ।
मस्कका वकिल स्टीभन मोलोका अनुसार प्रारम्भिक लगानीकर्ताले स्टार्टअपबाट ठूलो प्रतिफल पाउने सिद्धान्तअनुसार ओपनएआई र माइक्रोसफ्टले ‘गलत तरिकाले’ कमाएको मुनाफाबाट मस्क पनि हकदार छन् ।
यता ओपनएआईले भने मस्कको दाबीलाई पूर्णतः अस्वीकार गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै मुद्दा आधारहीन भएको र यो मस्कको ‘उत्पीडन अभियान’को हिस्सा भएको आरोप लगाएको छ । आवश्यक परे अदालतमा आफ्नो पक्ष प्रमाणित गर्न तयार रहेको ओपनएआईले जनाएको छ ।
उल्लेखनीय छ, एलन मस्क, स्याम अल्टम्यान र ग्रेग ब्रोकम्यानलगायतले सन् २०१५ मा ओपनएआई स्थापना गरेका थिए । तर मस्क सन् २०१८ मा बोर्डबाट अलग भएका थिए । सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएपछि ओपनएआई विश्वभर चर्चामा आएपछि मस्क यसको आलोचक बन्दै आएका छन् । त्यसपछि उनले आफ्नै एआई कम्पनी ‘एक्स एआई’ स्थापना गरी ‘ग्रोक’ च्याटबोट सार्वजनिक गरेका छन् ।







प्रतिक्रिया