राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह आज जनकपुर प्रस्थान गर्दैछन्। पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार शाह आज साँझ ५ बजेको उडानमार्फत जनकपुर जान लागेका हुन्।
केहीबेरअघि पार्टीको केन्द्रीय कार्यालय घण्टीघर पुगेका शाहले समर्थकमाझ औपचारिक प्रतिक्रिया भने दिएका छैनन्। उनले महामन्त्री कवीन्द्र बुर्लाकोटीले ल्याएको पत्रमा हस्ताक्षर गरेका छन् भने पार्टी कार्यालयमा उनका लागि छुट्टै कार्यकक्षसमेत व्यवस्था गरिएको छ।
आजै काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका शाह पहिलोपटक रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन्। कार्यालय पुग्दा उनले पार्टी सभापति रवि लामिछानेसँग अंकमाल गरेका थिए भने कार्यालयअगाडि राखिएको बडेमानको घण्टी पनि बजाएका थिए।
शाहसँगै आजै सभापति रवि लामिछाने पनि जनकपुर जाने कार्यतालिका रहेको छ। प्रवक्ता झाका अनुसार सोमबार जनकपुरमा रास्वपाले आयोजना गर्ने चुनावकेन्द्रित जनसभालाई सभापति लामिछाने र वरिष्ठ नेता शाह दुवैले सम्बोधन गर्नेछन्।







प्रतिक्रिया