भक्तपुरमा छोराद्वारा आमाको हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन्। मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटारमा २७ वर्षीय प्रविण भण्डारीले ५० वर्षीया आमा सरिता भण्डारीको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार धनुषाको मिथिला नगरपालिका–११ स्थायी घर भई तेर्सेटारमा डेरामा बस्दै आएका प्रविणले शुक्रबार राति आमामाथि धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएकी सरितालाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रविण भण्डारीले आफ्नै टाउकोमा पनि धारिलो हतियार प्रहार गरेको बताइएको छ। उनी समेत घाइते अवस्थामा उपचाररत छन्।

घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।