जेनजी आन्दोलनमा नगद र बहुमूल्य वस्तुमा साढे २३ करोड रुपैयाँभन्दा बढी क्षति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नगद र बहुमूल्य वस्तुमा ठूलो क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। जलेर नष्ट भएको रकम मात्रै २३ करोड ६९ लाख रुपैयाँ रहेको छ भने कुल नगद क्षति ७८ करोड रुपैयाँभन्दा बढी रहेको तथ्यांक छ।

आन्दोलनपछि बनेको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयारी समितिको प्रतिवेदन अनुसार नगद तथा सुन, चाँदी, हिरा, मोती जस्ता बहुमूल्य वस्तुमा कुल २ अर्ब ८१ करोड ३४ लाख बराबरको क्षति भएको छ।

क्षतिको कारण हेर्दा चोरी, आगजनी र तोडफोड मुख्य छन्। चोरीबाट ५७.५ प्रतिशत, आगजनीबाट ३०.९ प्रतिशत र तोडफोडबाट ११.६ प्रतिशत क्षति भएको छ। सुन, चाँदी, हिरा र मोतीमा चोरीबाट १ अर्ब २ करोड ६४ लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। आगजनी र तोडफोडबाट यस्ता वस्तुमा क्रमशः १३ करोड ११ लाख र ९३ लाख रुपैयाँ क्षति भएको छ।

निजी प्रतिष्ठानहरूमा पुगेको नगद तथा बहुमूल्य वस्तुमा क्षति ५६ करोड १८ लाख रुपैयाँ बराबर देखिएको छ, जुन कुल क्षतिको २.६ प्रतिशत हो। कुल क्षति रकममध्ये अन्य बहुमूल्य वस्तुमा सबैभन्दा ठूलो अंश (६३.२ प्रतिशत) परेको छ।

नगदमा हेर्दा कुल २० करोड ३९ लाखको क्षतिमा आगजनीबाट ६७.९ प्रतिशत र चोरीबाट २०.६९ प्रतिशत भएको छ। घरपरिवारको नगद तथा बहुमूल्य वस्तुमा सबैभन्दा बढी क्षति सुन, चाँदी, हिरा, मोतीमा ७५ करोड ३१ लाख रुपैयाँ पुगेको छ। यसमा चोरीबाट ७३ करोड ४३ लाख, आगजनीबाट १७ करोड ६ लाख र तोडफोडबाट ५ करोड ४ लाख बराबरको क्षति भएको छ।

सामुदायिक तथा अन्य क्षेत्रमा नगदको क्षति ३३ करोड ७० लाख र अन्य बहुमूल्य वस्तुमा १६ करोड २३ लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।

यसबाट स्पष्ट हुन्छ कि जेनजी आन्दोलनका क्रममा नगद र बहुमूल्य वस्तुमा पर्ने क्षति मुख्य रूपमा चोरी र आगजनीका कारण भएको हो।