जेनी आन्दोलनको क्षति पुनर्निर्माणमा ३६ अर्ब ३० करोड खर्च लाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गत भदौ २३ र २४ गते भएको जेनी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण, मर्मत तथा नयाँ संरचना निर्माणका लागि ३६ अर्ब ३० करोड रुपैयाँभन्दा बढी लागत लाग्ने भएको छ। आन्दोलनबाट भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना बनाउन गठित समितिले यस्तो प्रतिवेदन तयार पारेको हो।

मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार सार्वजनिक क्षेत्रमा क्षति भएका भवनको पुनर्निर्माण तथा मर्मत, सवारी साधन र अन्य भौतिक सामग्रीको खरिद तथा मर्मतका लागि कुल ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

प्रतिवेदनमा भवन पुनर्निर्माणतर्फ १९ अर्ब ९८ करोड ९८ लाख, सवारी साधनको खरिद तथा मर्मतमा ६ अर्ब १६ करोड ८० लाख र अन्य भौतिक सामग्रीमा १० अर्ब १४ करोड ४२ लाख रुपैयाँ खर्च लाग्ने उल्लेख छ।

समग्रमा आन्दोलनका कारण ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ। यो रकम देशको कुल गार्हस्थ्य उत्पादनको १.३८ प्रतिशत र चालु आर्थिक वर्षको कुल बजेटको ४.३० प्रतिशत बराबर हो। कुल क्षतिमध्ये ५३ प्रतिशत सरकारी तथा सार्वजनिक क्षेत्रमा, ४० प्रतिशत निजी क्षेत्रमा र ७ प्रतिशत सामुदायिक तथा अन्य क्षेत्रमा परेको छ।

प्रदेशगत रूपमा सबैभन्दा धेरै क्षति बागमती प्रदेशमा भएको छ, जहाँ कुल क्षतिको ६६.५ प्रतिशत हिस्सा रहेको छ। कोशी प्रदेशमा १० अर्ब २४ करोड, मधेशमा ४ अर्ब ९२ करोड, बागमतीमा ५६ अर्ब २३ करोड, गण्डकीमा ४ अर्ब १ करोड, लुम्बिनीमा ५ अर्ब ९९ करोड, कर्णालीमा ६२ करोड र सुदूरपश्चिममा २ अर्ब ४० करोड रुपैयाँ बराबरको क्षति भएको विवरण छ।

आन्दोलनका कारण वस्तु तथा सेवा उत्पादनमा १३ अर्ब ८७ करोड ५६ लाख रुपैयाँको नोक्सानी पुगेको छ भने २ हजार ९९९ जनाको रोजगारीमा प्रत्यक्ष प्रभाव परेको छ। तीमध्ये २ हजार ३५३ जनाले पूर्ण रूपमा रोजगारी गुमाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

आन्दोलनका क्रममा कुल २ हजार ६७१ भवन क्षतिग्रस्त भएका छन्, जसमध्ये करिब ८० प्रतिशत सार्वजनिक भवन हुन्। भवनमा ३९ अर्ब ३१ करोड, सवारी साधनमा १२ अर्ब ९३ करोड, अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड, नगद तथा बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड र अन्य अस्थायी तथा निजी सम्पत्तिमा ९ अर्ब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

प्रतिवेदनमा मानवीय क्षतिको विवरण पनि समेटिएको छ। आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएको थियो, जसमा ७३ पुरुष र ४ महिला छन्। मृत्यु हुनेमध्ये १३ देखि २८ वर्ष उमेर समूहका ३९ जना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।