अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै नेपाललाई पनि ‘भिसा बन्ड’ लागू हुने देशहरूको सूचीमा समावेश गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको पछिल्लो अपडेटअनुसार अब नेपाली नागरिकहरूले बी–१/बी–२ (पर्यटक तथा व्यावसायिक) भिसा आवेदन दिँदा धरौटी रकम राख्नुपर्ने भएको हो । यो व्यवस्था जनवरी २१ देखि लागू हुने जनाइएको छ ।
भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अफिसरले आवेदकको अवस्था हेरेर धरौटी रकम तोक्नेछन् । न्यूनतम ५ हजार अमेरिकी डलरदेखि अधिकतम १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ । उक्त रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल pay.gov मार्फत सिधै बुझाउनुपर्ने र कुनै तेस्रो पक्ष वा एजेन्टलाई रकम नदिन मन्त्रालयले चेतावनी दिएको छ ।
भिसा बन्ड राखेर अमेरिका जाने नेपालीहरूले अब तोकिएका तीन विमानस्थलबाट मात्र प्रवेश र बहिर्गमन गर्न पाउनेछन् । ती विमानस्थलमा न्युयोर्कको जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्टन डीसीको वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थल र बोस्टनको बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । अन्य विमानस्थल प्रयोग गरे धरौटी रकम जफत हुन सक्ने र भविष्यमा अमेरिका प्रवेशमा रोक लाग्न सक्ने चेतावनी दिइएको छ ।
धरौटी रकम तोकिएको समयभित्र अमेरिका छोडेमा, भिसाका शर्त उल्लंघन नगरेमा र तोकिएका विमानस्थलबाटै बाहिरिएको पुष्टि भएमा मात्र फिर्ता गरिनेछ । भिसाको म्याद नाघेर बसेमा वा शरण (असाइलम) मागेमा धरौटी रकम जफत हुने व्यवस्था गरिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार, अमेरिका गएर समयमै स्वदेश नफर्कने नागरिकहरू रहेका देशलाई लक्षित गरी यो पाइलट प्रोग्राम ल्याइएको हो । नेपालसँगै बंगलादेश, भुटान, नाइजेरिया र भेनेजुएला लगायत ३८ देश यो सूचीमा परेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेयता कडा आप्रवासन नीति अपनाउँदै आएका छन् । मानव अधिकारवादी समूहहरूले भने यी नीतिले कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रतामा असर पार्ने भन्दै आलोचना गर्दै आएका छन् ।







प्रतिक्रिया