रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिवसीय राजकीय भ्रमणका लागि आज भारत आइपुगेका छन्। भारतीय समयअनुसार अपराह्न ४ बजे नयाँ दिल्ली अवतरण गर्न लागेका पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय, क्षेत्रीय र वैश्विक मुद्दाहरूमा महत्वपूर्ण छलफल गर्ने कार्यक्रम छ।
उनको भ्रमणलाई लक्षित गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सबै सुरक्षा एजेन्सीहरू ‘हाई अलर्ट’ मा राखिएका छन्।
पुटिनमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले जारी गरेको गिरफ्तारी वारेन्टबीच भारत भ्रमणले विश्व समुदायको ध्यान खिचेको छ। युक्रेन युद्धसँग सम्बन्धित युद्ध अपराधका आरोपमा मार्च २०२३ मा जारी वारेन्टका कारण अन्तर्राष्ट्रिय दबाब रहेको छ। तर भारत आईसीसीको सदस्य नभएकाले पुटिनलाई यहाँ पक्राउ गर्ने कुनै कानुनी बाध्यता छैन।
भारत र रूसबीचको ऐतिहासिक रणनीतिक साझेदारीका बीच यो भ्रमण निर्णायक मानिएको छ। पश्चिमी मुलुकहरूको दबाबका बीच भारतले रणनीतिक स्वायत्तता अपनाउँदै आएको छ। रूससँगको रक्षा सहकार्य, तेल व्यापार, ऊर्जा सुरक्षा र श्रमिक साझेदारीजस्ता विषयहरू छलफलको प्रमुख एजेन्डा हुने अपेक्षा छ।
युक्रेन युद्धपछि भारत–अमेरिकाबीचको व्यापारिक तनाव चर्किएको बेला पुटिनको दिल्ली आगमनले नई दिल्लीको कूटनीतिक सन्तुलनको पनि परीक्षा लिँदैछ। अमेरिका र युरोपेली देशहरूले रुसमाथिको आलोचना जारी राखिरहेका छन् भने चीनले पुटिनलाई खुलेर साथ दिइरहेको छ।
यता, दिल्ली–मस्कोबीच रक्षा सम्झौता, ऊर्जा लगानी, र वैकल्पिक व्यापार मार्गमा सहयोगबारे ठूला घोषणा हुन सक्ने संकेत देखिएको छ। सोभियत युगदेखि जारी रहेको भारत–रुस सम्बन्ध बदलिँदो भू–राजनीतिक परिस्थितिमा अझ गहिरिन सक्छ भन्ने अनुमान विश्लेषकहरू गर्छन्।
पुटिन र मोदीबीचको भेटले विश्व राजनीतिमा नयाँ समीकरण र सन्देश दिने अपेक्षा गरिँदैछ।







प्रतिक्रिया