नेपाल राष्ट्र बैंकद्वारा चाँदी आयात भुक्तानी सीमा संशोधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि गरिने भुक्तानीको सीमामा संशोधन गरेको छ। संशोधित व्यवस्थाअनुसार महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योग र व्यवसायीका लागि सटही सुविधाको सीमा बढाइएको छ। अब उद्योगका लागि अधिकतम अमेरिकी डलर २० लाख र अन्य व्यवसायीका लागि अमेरिकी डलर ४ लाखसम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ।

यसअघि औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनका लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म मात्र सटही सुविधा उपलब्ध थियो। त्यस्तै, अन्य सुनचाँदी व्यवसायीका हकमा प्रति पटक अमेरिकी डलर १ लाख वा सो बराबरको विदेशी मुद्रासम्म सटही सुविधा दिने प्रावधान रहेको थियो।

राष्ट्र बैंकले चाँदीका गरगहना तथा कलात्मक वस्तु निकासी गर्ने व्यवसायीका लागि भने अघिकै व्यवस्था यथावत् राखेको छ। निकासी आदेश पुष्टि भइसकेको अग्रिम भुक्तानी, प्रतीतपत्र (एलसी) वा विदेशबाट प्राप्त खरिद आदेशको आधारमा गरिने चाँदी आयातमा भुक्तानीको सीमा लागू नहुने व्यवस्था निरन्तर कायम रहने बैंकले स्पष्ट पारेको छ।