भारतको ओस्कारका लागि सर्टलिस्टमा परेको फिल्म ‘होमबाउन्ड’ अहिले साहित्यिक चोरीको आरोपका कारण विवादमा परेको छ। लेखिका तथा पत्रकार पूजा चांगोईवालाले आफ्नो सन् २०२१ मा प्रकाशित पुस्तक **‘होमबाउन्ड’**बाट कथावस्तु चोरी गरिएको दाबी गर्दै निर्माता करण जोहरको धर्मा प्रोडक्सन र नेटफ्लिक्स इन्डियाविरुद्ध कानुनी प्रक्रिया अघि बढाएकी हुन्।
पूजाका अनुसार फिल्मको शीर्षक, कथा संरचना, दृश्य, संवाद र घटनाक्रम उनको पुस्तकसँग अत्यधिक मिल्दोजुल्दो छ। दुवै कथाले कोभिड–१९ महामारीको समयमा मजदुरहरूले भोगेको बसाइँसराइ र संघर्षलाई केन्द्रमा राखेका छन्। पुस्तक प्रकाशित भएको एक वर्षपछि मात्रै फिल्मको पटकथा लेखिनु संयोग हुन नसक्ने उनको दाबी छ।
यस विषयमा उनले गत अक्टोबर १५ मा कानुनी सूचना पठाए पनि निर्माताहरूले बेवास्ता गरेपछि उनले औपचारिक रूपमा मुद्दा दायर गर्ने प्रक्रिया थालेकी हुन्। उनले वाणिज्य अदालत ऐन, २०१५ को धारा १२ए अन्तर्गत महाराष्ट्र राज्य कानुनी सेवा प्राधिकरणमा निवेदन दर्ता गरिसकेकी छन्, जुन बम्बई उच्च अदालतमा मुद्दा दायर गर्नुअघि अनिवार्य पूर्व–मध्यस्थता प्रक्रिया हो।
पूजाले फिल्मको वितरण रोक्न, कथित चोरी गरिएको सामग्री हटाउन, शीर्षक परिवर्तन गर्न र क्षतिपूर्तिको माग गरेकी छन्। उता धर्मा प्रोडक्सनले भने यो विषय कानुनी माध्यमबाट समाधान भइरहेको प्रतिक्रिया दिएको छ।
नीरज घायवानद्वारा निर्देशित ‘होमबाउन्ड’ फिल्ममा इशान खट्टर, विशाल जेठवा र जान्हवी कपूर मुख्य भूमिकामा छन्। विवादकै बीच फिल्म ओस्कारको शीर्ष १५ सर्टलिस्टमा पर्न सफल भएको छ।









प्रतिक्रिया