आगामी पुस अन्तिम सातादेखि सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीवार आयोजित कार्यक्रममा राष्ट्रिय लिगका पुरस्कार, तयारी खर्च र व्यवस्थापनसम्बन्धी जानकारी सार्वजनिक गर्दै विजेताका लागि ५० लाख, उपविजेताका लागि २५ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीलाई १५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको हो।
एन्फा र लिगमा दर्ता भएका १७ क्लबबीच भएको छलफलमा प्रत्येक क्लबलाई तयारी खर्चस्वरूप १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ। त्यसैगरी एन्फा प्रेसिडेन्ट लिगमार्फत राष्ट्रिय लिगमा छनोट भएका क्लबहरूमध्ये काठमाडौं बाहिरका टोलीलाई अतिरिक्त दुई लाख रुपैयाँ यातायात खर्च र उपत्यकाभित्रका क्लबलाई एक लाख रुपैयाँ दिने निर्णयसमेत गरिएको छ।
राष्ट्रिय लिग पुस २५ गतेबाट काठमाडौंको दशरथ रङ्गशालामा सुरु हुनेछ। क्लबहरूले पुस १८ गतेभित्र खेलाडी दर्ता सम्पन्न गर्नुपर्नेछ। प्रतियोगिताको खेल तालिका पुस २० गते सार्वजनिक गरिने एन्फाले जनाएको छ।









प्रतिक्रिया