ट्रम्प प्रशासन कडा: ८५ हजार भिसा रद्द, सोशल मिडिया जाँचदेखि नयाँ ट्यारिफसम्म कडा नीतिको श्रृङ्खला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अध्यागमन नियम कडा बनाएसँगै यो वर्ष मात्र ८५ हजार भिसा रद्द गरिएको अमेरिकाको स्टेट डिपार्टमेन्टले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको छ। जनवरीदेखि हालसम्म रद्द गरिएका भिसामध्ये आठ हजारभन्दा बढी विद्यार्थी भिसा छन्, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो। मादकपदार्थ सेवन गरी गाडी चलाउने, चोरी, आक्रमण जस्ता आपराधिक गतिविधि, भिसा म्याद समाप्त, अन्य सुरक्षा जोखिम तथा आतंकवादसम्बन्धी जाँचका कारण भिसा रद्द भएको बताइएको छ। गाजा युद्धसँग सम्बन्धित प्रदर्शनमा संलग्न केही अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि निगरानीमा परेको उल्लेख छ।

यस वर्षदेखि भिसा नियमहरू थप कठोर बनाउँदै अमेरिकी प्रशासनले वैध भिसाधारी ५५ मिलियनभन्दा बढी विदेशीको गतिविधि निगरानी गर्न ‘कन्टिनुअस मोनिटरिङ सिस्टम’ लागू गरिसकेको छ। नयाँ नियम अनुसार, डिसेम्बर १५ देखि एच–वानबी र एच–फोर भिसाका लागि सामाजिक सञ्जाल प्रोफाइल सार्वजनिक राख्न अनिवार्य भएको छ। यदि आवेदकको पोस्ट वा गतिविधि अमेरिकी राष्ट्रिय हितविरुद्ध देखिएमा भिसा तुरुन्तै अस्वीकृत हुने उल्लेख छ। अध्ययन भिसा एफ–वान, एम–वान, जे–वान तथा आगन्तुक भिसा बी–वान/बी–टुमा पनि सोशल मिडिया अनिवार्य जाँच अगस्टदेखि नै लागू भइसकेको छ।

अध्यागमनमा कडाइ मात्र होइन, ट्रम्प प्रशासनले व्यापार नीति पनि कठोर बनाउँदै agriculture import मा नयाँ ट्यारिफ लगाउने संकेत दिएको छ। ब्लुमबर्गका अनुसार, भारतबाट आउने चामल र क्यानडाबाट आयात हुने मलमाथि ट्यारिफ लगाउने तयारी भइरहेको छ। अमेरिकन किसानले ‘सस्तो विदेशी उत्पादन’ का कारण घरेलु बजार प्रभावित भएको गुनासो राखेपछि ट्रम्पले ‘डम्पिङ’ गर्ने देशहरू विरुद्ध कडा कदम चालिने बताएका छन्। यदि कम मूल्यमा चामल वा कृषि उत्पादन डम्पिङ गरिएको प्रमाणित भए, भारत, थाइल्यान्ड, चीन लगायत देशहरू लक्षित हुने सम्भावना रहेको छ।

समग्रमा, भिसा रद्ददेखि सोशल मिडिया स्क्रिनिङ, विद्यार्थी निगरानीदेखि व्यापारिक ट्यारिफसम्मका कदमहरूले ट्रम्प प्रशासनले ‘मेक अमेरिका सेफ अगेन’ नाराअन्तर्गत अध्यागमन र व्यापार दुवै क्षेत्रमा आक्रामक र कठोर नीति अपनाइरहेको संकेत दिन्छ।