अमेरिकासँगको व्यापार युद्धले चीनको निर्यात प्रभावित नपरेको पुष्टि, उल्टै विश्व बजारमा बढ्यो चिनियाँ दबदबा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सुरु गरिएको व्यापार युद्ध का कारण धेरै देशहरू आर्थिक दबाबमा परिरहेका बेला, चीन भने उल्टो दिशामा अगाडि बढ्न सफल भएको छ। चीनको उत्पादन तथा निर्यातमा ठूलो असर पर्ने अनुमान गरिए पनि पछिल्लो तथ्यांकले त्यस्तो कुनै नकारात्मक प्रभाव नपरेको स्पष्ट भएको छ। बरु, अमेरिका ‘समान कर’ भन्दै विभिन्न मुलुकसँग व्यापारिक तनाव बढाइरहेका बेला चीनले भने विश्वका धेरै देशहरूसँगको व्यापारिक सम्बन्ध अझ मजबूत बनाउँदै आफ्नो निर्यात उल्लेख्य रूपमा विस्तार गरेको देखिन्छ।

चिनियाँ भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बर महिनामा चीनको कुल निर्यात ५.९ प्रतिशतले बढ्दै १११.६८ अर्ब डलर पुगेको छ। यस अवधिमा अमेरिकातर्फ हुने निर्यात भने अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले घटेको छ। अमेरिकासँगको निर्यातमा यस्तो ठूलो गिरावट आए पनि समग्र निर्यात वृद्धिले चीनले विश्वका अन्य बजारमा आफ्नो उपस्थितिलाई झनै सुदृढ बनाएको देखिन्छ।

चीनको निर्यात युरोपेली युनियनतर्फ १४.८%, अस्ट्रेलियातर्फ ३५.८%, र दक्षिण एसियाली मुलुकतर्फ ८.२% ले बढेको पाइएको छ। यी तथ्यांकले अमेरिकासँगको व्यापार विवादले चीनको आर्थिक यात्रालाई रोक्न नसकिने संकेत दिएको विश्लेषकहरूको निष्कर्ष छ।

क्यापिटल इकोनोमिक्सका चिनियाँ अर्थशास्त्री सिचुन हुआङका अनुसार, अमेरिका–चीनबीच ट्यारिफसम्बन्धी केही सहमति भए पनि अमेरिकातर्फको ढुवानीमा सुधार देखिएको छैन। तर चीनले अमेरिकामात्रमा भर नपरी विश्वव्यापी बजार विस्तारमा ध्यान केन्द्रित गर्नु नै निर्यात वृद्धि हुनुको मुख्य कारण हो। उनका अनुसार, व्यापार युद्ध जारी रहे पनि, नभए पनि, विश्व बजारमा चीनको प्रभाव र उपस्थितिले आगामी वर्षहरूमा झनै बढ्ने प्रक्षेपण रहेको छ।