नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायबीच सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘नबिल एसएसई’ कार्यक्रम सन् २०२८ सम्म निरन्तर सञ्चालन गर्ने गरी सम्झौता नवीकरण भएको छ। व्यवस्थापन संकायको कार्यालयमा आयोजित कार्यक्रममा नबिल बैंकका सीईओ मनोजकुमार ज्ञवाली र डिन प्रा. डा. महानन्द चालिसेले सम्झौतामा हस्ताक्षर गरे।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत चार वर्षदेखि ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनर्सिप’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। सम्झौता नवीकरणपछि सीईओ ज्ञवालीले सामाजिक उद्यमशीलता प्रवर्द्धनमा दुई संस्थाबीचको सहकार्य महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले नबिल बैंकले समुदायमा सकारात्मक प्रभाव पार्ने परियोजनालाई निरन्तर समर्थन गर्दै आएको उल्लेख गरे।
डिन प्रा. डा. चालिसेले त्रिविको पाठ्यक्रमलाई प्रयोगात्मक शिक्षातर्फ रूपान्तरण गर्न यो सहकार्य उपयोगी हुने बताए। उद्योग–शैक्षिक क्षेत्रबीचको प्रभावकारी साझेदारीका रूपमा नबिल एसएसई कार्यक्रम स्थापित भएको उनको भनाइ छ।
नबिल एसएसईअन्तर्गत ‘फेलोसिप’ र ‘सर्टिफिकेट’ गरी दुई कार्यक्रम सञ्चालनमा छन्। छ महिने फेलोसिप कार्यक्रम नवीन सोचका सामाजिक उद्यमीलाई लक्षित छ, जसमा प्रशिक्षण, मेन्टरसिप तथा वित्तीय पहुँच जस्ता सहयोगहरू समावेश छन्। तीन महिने सर्टिफिकेट कार्यक्रम सातै प्रदेशका शैक्षिक संस्थासँगको सहकार्यमा चल्दै आएको छ।
गत चार वर्षमा फेलोसिप कार्यक्रममा ९६ सामाजिक उद्यमी सहभागी बनेका छन्। उनीहरूले ६२ उद्यम स्थापना गर्दै १४ हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष लाभ पुर्याएका छन्। त्यस्तै, सर्टिफिकेट कोर्सबाट हालसम्म १,०६९ उद्यमी लाभान्वित भएका छन्, जसबाट १३१ उद्यम स्थापना भई २,६०० भन्दा बढीले रोजगारी पाएका छन्।







प्रतिक्रिया