एमाले उपाध्यक्ष शाक्यद्वारा अध्यक्ष ओलीमाथि पूर्वराष्ट्रपति भण्डारीप्रति अपमानजनक टिप्पणी गरेको आरोप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति अपमानजनक शब्द प्रयोग गरेर समग्र महिलाको अपमान गरेको आरोप लगाएकी छन्।

आगामी महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेका ईश्वर पोखरेल समूहले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै शाक्यले भने, “‘धामी, झाँक्री’ भनेको के हो? यस्तो अपमान गर्न पाइन्छ? सामान्य नागरिकलाई त गर्न पाइँदैन, पूर्वराष्ट्रपतिलाई यो शब्द प्रयोग गरेर अपमान गर्न पाइन्छ?”

उनका अनुसार, ओलीले मिडियासँगको कुराकानीमा भण्डारीप्रति लक्षित गर्दै भनेका थिए, “‘धामीले जस्तो ढ्याङ ढ्याङ पार्दै अध्यक्ष छोड् भन्दै आउने।’” शाक्यले यो अभिव्यक्तिले नेतृत्वको मर्यादा र महिलाप्रतिको दृष्टिकोण दुबै कमजोर भएको बताइन्।

शाक्यले थपिन्, “यो हद नेतृत्वलाई सुहाउँदैन। महिलाप्रति हेर्ने दृष्टिकोण नभएको र अपमानजनक व्यवहारले सबै महिलाको अपमान गरेको छ। महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेलामा यस्तो शब्द प्रयोग गर्नु भनेको समग्र महिलाको अपमान हो।” उनले यस्तो नेतृत्व अब आवश्यक नरहेको समेत स्पष्ट पारेकी छिन्।