४ महिनामै काठमाडौं महानगरले उठायो ३ अर्ब २२ करोड राजस्व,

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा ५ करोड ६५ लाख १० हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्ष २०८१/८२ को यसै अवधिमा महानगरले ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ राजस्व उठाएको थियो। यस वर्ष महानगरले १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजस्व उठ्ने प्रक्षेपण गरेको छ।

यस अवधिमा आन्तरिक राजस्व १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ, जुन गत वर्षको तुलनामा २ करोड २० लाख ९१ हजार ९९५ रुपैयाँले कम हो। आन्तरिक राजस्व घट्नुको प्रमुख कारण सम्पत्ति करमा आएको कमी रहेको महानगरले जनाएको छ। गत वर्ष पहिलो चौमासमा ५० करोड ३१ लाख ३ हजार ७३८ रुपैयाँ संकलन भएको सम्पत्ति कर यो वर्ष ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँ मा झरेको छ। राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार, “गएको वर्ष सम्पत्ति कर मालपोत कार्यालयले तोकेको दरमै लिने निर्णय भएपछि ठूलो भवन भएका करदाताबाट राजस्व बढेको” भए पनि यस वर्ष त्यस्तो वृद्धि देखिएन।

यता बहाल कर संरचनामा ठूला परिवर्तन भएकाले यस वर्ष उल्लेखनीय वृद्धि भएको छ। गत वर्ष सोही अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ संकलन भएको बहाल कर यस वर्ष १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५७० रुपैयाँ पुगेको छ। सर्वोच्च अदालतले बहाल कर स्थानीय तहको अधिकारक्षेत्रभित्र पर्नेदेखि संघीय कार्यालयबाट उठ्दै आएको कर महानगरमै जम्मा हुन थालेपछि यो वृद्धि भएको हो।

त्यसैगरी, व्यवसाय कर पनि बढेको छ। गत वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपैयाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ पुगेको छ। उता भवन नक्सा स्वीकृति शुल्क भने घटेको छ। गत वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएको शुल्क यो वर्ष घटेर ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँ मा पुगेको छ। महानगर क्षेत्रभित्र भवन निर्माणको दर घटेपछि नक्सा शुल्कबाट हुने आयमा पनि कमी आएको हो। समग्रमा, बहाल कर र व्यवसाय करको वृद्धि कारण राजस्व संकलन उकालो लागे पनि आन्तरिक राजस्व र सम्पत्ति कर पक्ष भने कमजोर देखिएको महानगरको विश्लेषण छ।