मेक्सिकोको उरुआपानका मेयर कार्लोस मान्जोको सार्वजनिक हत्या भएको केही दिनमै देशभर ‘जेन–जी शैली’को विरोध प्रदर्शन तीव्र बनेको छ। नोभेम्बरको सुरुवातमै अपराधविरुद्ध कडा छवि बनाएका मेयरको गोली प्रहार गरी हत्या भएपछिको आक्रोश देशभर फैलिएको हो। हजारौं नागरिक सडकमा उत्रिएर बढ्दो अपराध र हिंसाकै विरुद्ध सशक्त आवाज उठाइरहेका छन्।
शनिबार देशभर ‘जेन–जी’ ब्यानरमा ठूलो संख्यामा प्रदर्शन भयो। रोयटर्सका अनुसार, मेक्सिको सिटीमा मुख छोपिएका प्रदर्शनकारीहरूको एक समूहले राष्ट्रपति क्लाउडिया शेनबाम बस्ने नेशनल प्यालेस वरिपरिका बारहरू भत्काए। स्थितिलाई नियन्त्रण गर्ने क्रममा दङ्गा नियन्त्रण प्रहरीसँग प्रदर्शनकारीहरूको भिडन्त भयो र प्रहरीले अश्रुग्यास प्रयोग गर्न बाध्य भयो।
मेक्सिको सिटीका सार्वजनिक सुरक्षा सचिव पाब्लो भाज्क्वेजका अनुसार झडपमा १०० प्रहरी घाइते भएका छन्, जसमा ४० जनालाई अस्पताल भर्ना गरेर उपचार भइरहेको छ। साथै, उनले २० नागरिक घाइते भएको र २० जनालाई पक्राउ गरिएको जानकारी दिए। अन्य २० जनालाई प्रशासनिक अपराधअन्तर्गत कारबाही गरिएको छ।
देशका विभिन्न शहरहरूमा पनि आक्रोशपूर्ण प्रदर्शन भइरहेका छन्। विशेषगरी पश्चिमी राज्य मिचोआकानमा नोभेम्बर १ का दिन ‘डे अफ द डेड’ सार्वजनिक कार्यक्रममा मेयर मान्जोको गोली हानी हत्या भएपछि स्थानीयस्तरमा ठूलो विरोध उत्पन्न भएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति शेनबाम र उनकी पार्टी ‘मोरेना’ विरुद्ध नारा लगाउँदै ‘मोरेना आउट’ नाराले सडक गुन्जायमान बनाएका छन्। कतिपयले ‘कार्लोस मरेनन्, सरकारले मार्यो’ भन्दै अपराध नियन्त्रणमा सरकार असफल भएको आरोपसमेत लगाए।
प्रदर्शनको आह्वान गर्ने ‘जेनजी मेक्सिको’ नामक समूहले सामाजिक सञ्जालमा जारी गरेको घोषणापत्रमा यो आन्दोलन गैर-दलीय रहेको र भ्रष्टाचार, हिंसा तथा शक्तिको दुरुपयोगबाट त्रसित युवाहरूको आवाज भएको उल्लेख गरेको छ।
तर शेनबाम प्रशासनले प्रदर्शनको मनसायमाथि प्रश्न उठाउँदै यसलाई दक्षिणपन्थी विरोधी शक्तिहरूले आयोजना गरेको दाबी गरेको छ। सरकारले सामाजिक सञ्जालमा बटमार्फत यसलाई व्यापक बनाउन खोजिएको आरोप राखेको छ।







प्रतिक्रिया