भारतको जम्मु–काश्मिरस्थित श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। विस्फोटको शक्तिले प्रहरी चौकी परिसरका भवन र सवारीसाधनमा आगलागी भई ठूलो भौतिक क्षति पुगेको भारतीय मिडियाले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, दिल्लीमा हालै भएको कार बम विस्फोटसम्बन्धी अनुसन्धानका क्रममा फरीदाबादबाट ल्याइएका विस्फोटक पदार्थ जाँच गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक आशंका छ। तर, प्रहरीले यसबारे अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
मृतकमध्ये अधिकांश प्रहरी र फरेन्सिक टोलीका सदस्य रहेको बताइएको छ। घटनापछि ठूलो सङ्ख्यामा दमकल र एम्बुलेन्स परिचालित भई घाइतेहरूलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ।
यसअघि, दिल्लीको लालकिल्ला नजिकै सोमबार भएको कार विस्फोटमा ८ जनाको मृत्यु भएको थियो भने पछिल्ला अद्यावधिक रिपोर्टअनुसार मृतक सङ्ख्या १३ पुगेको छ।







प्रतिक्रिया