नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौं हवाई उडान संख्या बढाएपछि जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ। पहिले सातामा दुईवटा उडान मात्र सञ्चालन गर्दै आएको निगमले अब सातामा चार उडान भर्न सुरु गरेसँगै उपचारका लागि राजधानी तथा अन्य ठूला सहर पुग्ने चुनौती कम भएको स्थानीयले बताएका छन्।
पहिले उडान कम भएकाले आकस्मिक अवस्थामा बिरामीलाई हेलिकोप्टरमार्फत बाहिर लैजानुपर्ने बाध्यता थियो, जसले ठूलो आर्थिक भार थप्ने गर्थ्यो। स्थानीय पर्शुराम कार्कीका अनुसार उडान थपिएसँगै अब कम लागतमा काठमाडौँका अस्पतालमा पुगेर उपचार गर्न सकिने वातावरण बनेको छ।
निगमका भोजपुर शाखा प्रमुख प्रकाश खड्काका अनुसार कात्तिक २६ गतेदेखि मङ्गलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान भइरहेको छ। प्राविधिक समस्याका कारण पहिले बिहीबार र शनिबार मात्र उडान हुँदै आएको भए पनि अब सेवाको दायरा विस्तार गरिएको उनले बताए।
निगमले यात्रुको सुविधा लक्षित गर्दै अनलाइनमार्फत टिकट किन्न सकिने व्यवस्था समेत गरेको छ। भोजपुरमा हाल नेपाल वायु सेवा निगमका जहाजले मात्र हवाई सेवा दिँदै आएको छ, जहाँबाट रिफर भएका बिरामीहरू काठमाडौँ, विराटनगर, धरान लगायतका अस्पतालमा जानुपर्ने बाध्यता छ।







प्रतिक्रिया