विश्व बैंकको प्रतिवेदन : जेनजी आन्दोलनले नेपालको आर्थिक वृद्धि २०२६ मा २.१% मा झर्ने प्रक्षेपण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। गत भदौ २३ र २४ का जेनजी आन्दोलन र त्यसपश्चात् देखिएको राजनैतिक अस्थिरताको प्रभावले नेपालको आर्थिक वृद्धिदरमा प्रत्यक्ष प्रभाव पर्ने विश्व बैंकले जनाएको छ। विश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट २०२५ अनुसार, सन् २०२५ मा चार दशमलव छ प्रतिशत रहेको आर्थिक वृद्धिदर सन् २०२६ मा घटेर दुई दशमलव एक प्रतिशत पुग्ने अनुमान गरिएको छ।

प्रतिवेदनले सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुने बताएका छन्। यद्यपि, सन् २०२७ मा पुनर्निर्माण प्रयासले आर्थिक वृद्धिदर चार दशमलव सात प्रतिशतसम्म फिर्ता पुग्ने अपेक्षा गरिएको छ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले भने, ‘व्यावसायिक विश्वास पुनर्स्थापना गर्न र पुनरुत्थानलाई गति दिन नेपाल सरकारले एकिकृत व्यावसायिक पुनरुत्थान योजना सार्वजनिक गरेको छ। यस अन्तर्गत अनुदान, कर छुट र सञ्चालन सहयोगको व्यवस्था गरिएको छ।’ उनले पूर्वाधार पुनर्निर्माण र क्षतिग्रस्त सम्पत्ति पुनर्निर्माणमा प्राथमिकता दिइएको बताए।

विश्व बैंकका डिभिजन डाइरेक्टर डेभिड सिस्लेनले भने, ‘नेपालको आर्थिक वृद्धि, रोजगारी सिर्जना र समृद्धिका लागि सार्वजनिक लगानी वृद्धि गर्न आवश्यक छ। परियोजनाहरू निर्माण र बजेटिङको सुदृढीकरण, जग्गा अधिग्रहण, रुख कटान प्रक्रिया सुव्यवस्थित गर्ने, रकम व्यवस्थापन प्रभावकारी बनाउने, सार्वजनिक खरिद ऐनमा संशोधन गर्ने जस्ता कदम प्राथमिकतामा राखिनुपर्छ।’

प्रतिवेदन अनुसार, सन् २०२४ मा संघीय, प्रादेशिक र स्थानीय सरकारको कुल पुँजीगत खर्च कुल ग्राहस्थ उत्पादनको ७.९ प्रतिशत मात्र थियो, जबकि नेपालले पूर्वाधार आवश्यकताका लागि १०–१५ प्रतिशत लगानी आवश्यक छ।

नेपाल डेभलपमेन्ट अपडेट वर्षमा दुई पटक सार्वजनिक हुन्छ र यसले दीर्घकालीन आर्थिक योजना, लगानी रणनीति र विकास परियोजनाको विश्लेषणमा मार्गदर्शन प्रदान गर्दै आएको छ।