ढाका — भारत र पाकिस्तानका राजधानीमा विस्फोट भएको दुई दिन नबित्दै बंगलादेशको राजधानी ढाका पनि बम विस्फोटबाट थरथराएको छ। धानमन्डी र गुलिस्तान क्षेत्रका फरक–फरक स्थानमा मंगलबार साँझ विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। एशिया न्यूज नेटवर्क (ANN) का अनुसार, जिल्ला अदालत भवन अगाडि रोकिएको प्रहरी भ्यानमा भएको विस्फोटमा २७ जना घाइते भएका छन्। यस आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिबान (TTP) ले लिएको छ र आगामी दिनमा यस्ता आक्रमण जारी रहने चेतावनी दिएको द डेली स्टार ले जनाएको छ।
प्रहरीका अनुसार, दुवै स्थानमा मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर भागेका थिए। मानवीय क्षति सीमित भए पनि घटनाले ढाकाका बासिन्दामा त्रास फैलिएको छ। विस्फोटमा प्रयोग गरिएका बमहरू क्रुड बम (घरेलु रूपमा बनाइएका साधारण विस्फोटक) भएको बताइएको छ — जुन सामान्यतया असुरक्षित र अस्थिर हुन्छ। यसअघि आइतबार भारतको दिल्लीमा विस्फोटमा ८ जनाको मृत्यु र सोमबार पाकिस्तानको इस्लामाबादमा १३ जनाको ज्यान गएको थियो।
ढाकामा भने सरकारी कार्यालय, धार्मिक संस्था र पार्टी कार्यालयहरूलाई लक्षित गरी आक्रमण गरिएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ। घटनापछि बंगलादेश सरकारले देशभर उच्च सुरक्षा सतर्कता जारी गरेको छ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार मोहम्मद युनुसले संलग्नलाई कारबाहीको दायरामा ल्याउन र धार्मिक सहिष्णुतामा खलल पुर्याउन खोज्नेहरूसँग कठोर व्यवहार गर्ने चेतावनी दिएका छन्।








प्रतिक्रिया