जनकपुर — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्र रूप लिँदै गएको छ। प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ भने असन्तुष्ट दलका नेता–कार्यकर्ताले मधेश भवन अगाडि टायर बाल्दै विरोध प्रदर्शन गरेका छन्। संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखिएपछि कात्तिक २२ गते प्रदेश सभा बैठकमै राजीनामा दिएका थिए।
तर, सोमबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम एमाले दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छिन्। अस्वस्थ भई काठमाडौं उपचारका लागि जाँदैछु भन्दै निवासबाट निस्केकी भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा गुप्त रूपमा शपथ कार्यक्रम आयोजना गरेपछि विवाद झन् चर्किएको हो। नवनियुक्त मुख्यमन्त्री यादव मधेश भवन प्रवेश गर्न लाग्दा विरोधी दलका कार्यकर्ताले टायर बालेर प्रदर्शन गर्दै प्रवेश रोक्ने प्रयास गरेका छन्। उता, मुख्यमन्त्री नियुक्तिबारे पार्टीभित्र समेत छलफल नभएको भन्दै एमालेभित्र पनि असन्तुष्टि देखिएको छ।
मधेशको सत्ता संघर्षले अब कानुनी र राजनीतिक दुवै मोर्चामा तनाव बढाउने संकेत देखिएको छ।






प्रतिक्रिया