सुनसरी — विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको रिलायन्स स्पिनिङ मिल्सले आफ्नो प्रिमियम महसुलको बक्यौता रकमको पहिलो किस्ता बिहीबार तिरेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पहिलो किस्ता बुझाएपछि रिलायन्सको विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको हो।
रिलायन्सले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुल बुझाउनुपर्ने थियो। प्राधिकरणका अनुसार कम्पनीको जम्मा बक्यौता ७५ करोड ३७ लाख रुपैयाँ रहेको छ।
यो रकमलाई २८ किस्तामा विभाजन गरी रिलायन्सले पहिलो किस्ता स्वरूप २ करोड ७७ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले यसअघि बक्यौता नतिरेकाले रिलायन्सको विद्युत् लाइन काटेको थियो। अब पहिलो किस्ता बुझाएपछि कम्पनीलाई पुनः विद्युत् आपूर्ति पुनःसञ्चालन गरिएको हो।







प्रतिक्रिया