कुलमान घिसिङले नयाँ राजनीतिक दल गठनको तयारी तीव्र पारे, ‘उज्यालो नेपाल पार्टी’ नाममा बल्ब चुनाव चिह्नसहित अघि बढ्ने सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ — लोडसेडिङ अन्त्य गरी जनताको मन जितेका पूर्व ऊर्जा सचिव तथा वर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ अब राजनीतिमा प्रवेश गर्न तयारी अवस्थामा छन्। जेन–जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री रहेका घिसिङले हाल नयाँ राजनीतिक दल गठनका लागि तीव्र गृहकार्य सुरु गरेका छन्।

वैकल्पिक शक्ति एक ठाउँमा ल्याउने प्रयासमा रहेका घिसिङले विभिन्न पक्षसँगको छलफल पछि अब आफ्नै दल गठन गर्ने निष्कर्षमा पुगेका छन्। उनी ‘उज्यालो नेपाल पार्टी’ नामक दल दर्ताको तयारीमा छन्, जसको चुनाव चिह्न ‘बल्ब’ हुने सम्भावना छ। कुलमाननिकट स्रोतका अनुसार, यो दल दर्ताका लागि निवेदन गत असोजमै निर्वाचन आयोगमा पुगेको हो।

रास्वपासँगको सहकार्य प्रयास असफल भएपछि घिसिङले स्वतन्त्र रूपमा दल खोल्ने निर्णय लिएका हुन्। उनी दलको नेतृत्वमा आफू अगाडि आउने कि केवल सल्लाहकार भूमिकामा रहने भन्ने विषयमा भने अन्तिम निर्णयमा पुगेका छैनन्। अहिलेका लागि उनी मन्त्रालय नछाडी दल दर्ता प्रक्रियामा अघि बढ्ने तयारीमा छन्।

पछिल्लो समय कुलमानले विवेकशील साझा पार्टीका पूर्वनेता र जेन–जी फ्रन्टका नेता रक्षा बमसँग संवाद गरिरहेका थिए। तर, पार्टीको नाम र चुनाव चिह्नमा सहमति नजुट्दा छलफल निष्कर्षमा पुगेको छैन। विवेकशीलका मिलन पाण्डेले भने, “जेन–जी आन्दोलनको म्यान्डेटलाई ध्यानमा राख्दै सहमतिको नेतृत्व तय गर्नुपर्छ,” भन्दै सामूहिक नेतृत्वको आवश्यकता औंल्याएका छन्।

त्यस्तै, रास्वपा परित्याग गरेकी नेतृ सुमना श्रेष्ठले पनि जेन–जी आन्दोलनको मर्म बोकेको नयाँ राजनीतिक दल खुल्नुपर्ने बताएकी छन्। उनले भनिन्, “यदि जेन–जी आन्दोलनका युवाहरू चुनावबाट संसद् भित्रिएनन् भने पुराना दलहरूले आन्दोलनलाई अपराधीकरण गर्ने खतरा रहन्छ।”

स्रोतका अनुसार, जेन–जी फ्रन्ट भित्र पनि दल रूपान्तरणको तयारी चलिरहेको छ, र विवेकशील पृष्ठभूमिका नेताहरूले समेत त्यसमा साथ दिइरहेका छन्। कतिपयले फ्रन्टलाई पहिले संस्थागत गरी त्यसपछि राजनीतिक दलमा रूपान्तरण गर्ने योजना बनाइरहेका छन्।

यसअघि रास्वपामा प्रवेशको प्रस्ताव समेत पाएका घिसिङले अन्ततः स्वतन्त्र दल गठनको बाटो रोजेका हुन्। उनको वरिपरि सागर ढकाल, विवेकशीलका केही पूर्वनेता र नागरिक उन्मुक्ति पार्टीसँग निकटता बढिरहेको स्रोतहरूले जनाएका छन्।

यदि सबै तयारी योजना अनुसार अघि बढे, भने कुलमान घिसिङ **‘बल्ब’ चुनाव चिह्नसहित ‘उज्यालो नेपाल पार्टी’**का रूपमा राजनीतिक यात्रामा औपचारिक प्रवेश गर्नेछन्।