कैलालीमा धान बेच्न किसानको चार–चार दिन लामो प्रतीक्षा, सरकारी खरिद केन्द्रमा भीड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोडाघोडी — कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै धान बिक्रीका लागि भजनी पुगे। सरकारले समर्थन मूल्य तोकेर धान खरिद सुरु गरेपछि उनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको भजनी उपकेन्द्रमा पुगेका थिए। तर, त्यो दिन उनले धान बेच्न पाएनन्—पालो आउन चार दिन लाग्यो।

भजनी–४ का राजकुमार चौधरीको पनि उस्तै अनुभव छ। उनी पनि चार दिनपछि मात्र धान बेच्न सफल भए। किसानहरू सरकारी मूल्यमा धान बेच्न उत्साहित भए पनि खरिद प्रक्रियामा ढिलाइ र लामो लाइनले उनीहरूको उत्साह निराशामा बदलिएको छ।

किसान विष्णु चौधरी भन्छन्, “धान बेच्न यति दुःख कहिल्यै भएको थिएन। बिहानदेखि बेलुकीसम्म लाइनमा बस्दा पालो आउँदैन, रातभर डल्लफ र धानको सुरक्षा गर्न यही बस्नुपर्छ।”

यस वर्ष सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ तोकेको छ। बजारमा व्यापारीहरूले कम मूल्य दिँदा किसान सरकारी मूल्यमै बेच्ने आशामा केन्द्रमा लामबद्ध छन्।

भजनी खरिद उपकेन्द्रका कर्मचारी भीमबहादुर बुढाका अनुसार, प्रतिकिसान ५० क्विन्टलसम्म धान खरिद भइरहेको छ। पूर्वाधारको कमीका कारण खरिद ढिलो भएको उनको भनाइ छ। “धान खरिदका लागि एउटा काटामात्र सञ्चालनमा छ, अर्को थप्ने तयारीमा छौँ,” उनले बताए।

धान बिक्रीमा ढिलाइ हुँदा किसानको आर्थिक अवस्था र आगामी बाली रोपाइँ दुवै प्रभावित भएका छन्। किसान रमिता चौधरी भन्छिन्, “धान बेचेपछि ऋण तिरौँ भनेर सापटी मागेकी छु। लाइनमा दुई दिन भयो, खै कहिले पालो आउँछ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीमा १३ मध्ये ६ उपकेन्द्रमार्फत धान खरिद गरिरहेको सुदूरपश्चिम प्रमुख दीपक थापाले बताए। अहिले सबै केन्द्रमा किसानको लामो लाइन छ।

कैलालीमा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिएकोमा हालसम्म नौ हजार क्विन्टलभन्दा बढी खरिद भइसकेको छ।

थापाका अनुसार, “अरू ठाउँमा मूल्य कम पाउने भएकाले किसान सरकारी केन्द्रमै आएका छन्, जसले भीड बढाएको हो।”

अर्को चुनौती जनशक्ति र पूर्वाधारको कमी हो। चार जना कर्मचारीले पाँच जिल्लाबाट ल्याइएका कर्मचारीसँग मिलेर काम गरिरहेका छन्। उनले भने, “धान खरिदको रकम किसानको खातामा हाल्ने नयाँ प्रणालीले कागजी काम बढाएको छ, जसले प्रक्रिया ढिलो बनाएको हो।”

हाल किसानको भीडका कारण केन्द्रहरूमा बिहान ८ बजेदेखि राति ९ बजेसम्म धान खरिद भइरहेको छ।