धरानका पूर्वकर अधिकृत तिलक आलेसहित दुईजनामाथि भ्रष्टाचार मुद्दा दायर, १ करोड २३ लाख बराबरको बिगो दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा दुवैजनामाथि मुद्दा दायर गरेको हो।

मोरङको सुन्दरहरैंचा नगरपालिकाले गछिया खोलामा बालुवा–गिट्टी उत्खननका लागि भ्याटबाहेक ९ करोड ५१ लाख ५१ हजार १५१ रुपैयाँमा २०७७ साल जेठ २८ गते स्वामिनारायण निर्माण सेवा प्रालिलाई ठेक्का दिएको थियो।

तर, उक्त कम्पनीले भ्याटबापतको १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ राजस्व कार्यालयमा दाखिला नगरी फर्जी कागजात तयार गरी राजस्व चुहावट गरेको अख्तियारको दाबी छ।

अख्तियारका अनुसार, कर अधिकृत आले र बस्नेतले आपसी मिलेमतोमा २०७७ साल चैत ३० गते भ्याट दाखिला भएको झुट्टा लिखत तयार गरी नगरपालिकामा पठाएर राजस्व छली गरेका थिए।

अख्तियारले उनीहरूविरुद्ध जनही १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ।
मुद्दा अब विशेष अदालत काठमाडौंमा सुनुवाइका लागि दर्ता गरिएको छ।