महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट, कांग्रेसको नियमित महाधिवेशन कार्यतालिका पेश हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापाविश्वप्रकाश शर्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेका छन्। उनीहरूले आगामी नियमित महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा पारित गर्न आग्रह गरेका हुन्।

शुक्रबार बिहान विशालनगरस्थित सम्पर्क कार्यालयमा डा. शेखर कोइराला पक्षको भेला सम्पन्न भएपछि महामन्त्रीद्वयले खड्कासँग भेट गरेका हुन्। डा. कोइरालाले सो भेलामा पार्टीको नियमित महाधिवेशनका लागि कार्यतालिका तयार पारेका थिए।

कांग्रेस उपसभापति धनराज गुरुङका अनुसार तयार पारिएको तालिका आज (शुक्रबार) बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने छ। उनले भने, “हामीले निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नुपर्छ भनेर कार्यतालिका बनाएका छौँ। त्यसलाई सर्वसम्मत पारित गर्न महामन्त्रीद्वयले कार्यवाहक सभापतिलाई भेट्नुभएको हो।”

गुरुङका अनुसार उक्त कार्यतालिका धेरै केन्द्रीय सदस्य र पदाधिकारीहरूसँगको छलफलपछि तयार गरिएको हो। पार्टीभित्र लामो समयदेखिको गतिरोध अन्त्य गरी संगठनलाई सुदृढ बनाउने उद्देश्यले यो पहल गरिएको हो।

शुक्रबार बिहान शेखर कोइरालाले आफ्ना निकट पदाधिकारीहरूसँग आफ्नो सम्पर्क कार्यालय विशालनगरमा छलफल गरेका थिए। उक्त छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे सहभागी थिए।

पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्दै निर्वाचनअघि नै नियमित महाधिवेशन सम्पन्न गर्ने तयारी नेपाली कांग्रेसको प्रमुख एजेन्डा बनेको छ।