मन्त्री खरेलद्वारा नख्खुस्थित एनसेल कार्यालयको अवलोकन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नख्खुस्थित एनसेल कार्यालयको अवलोकन गर्दै जेन-जी आन्दोलनका क्रममा कम्पनीले भोगेको क्षतिबारे जानकारी लिएका छन्। मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै तोडफोड, लुटपाट र आगजनीबाट भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए।

गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा लैनचौरस्थित एनसेलको केन्द्रीय कार्यालयमा ठूलो क्षति पुगेपछि कम्पनी अहिले नख्खुस्थित कार्यालयबाट सेवा सञ्चालन गर्दै आएको छ। एनसेलका अनुसार देशभरका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका कारण करिब ६५ करोड रुपैयाँ बराबरको नोक्सानी भएको थियो।

अवलोकनपछि मन्त्री खरेलले आफू एनसेलमा पुगेको कारण क्षतिबारे प्रत्यक्ष जानकारी लिनु रहेको बताए। साथै, जेन-जी र विद्यार्थीका लागि नयाँ प्याकेज ल्याउने एनसेलको तयारीबारे सुन्दा खुसी लागेको उल्लेख गरे। उनले सगरमाथा आधार शिविरसहित दुर्गम क्षेत्रमा टेलिकम पहुँच विस्तारको कम्पनी योजनालाई सकारात्मक कदमका रूपमा व्याख्या गरे।

एनसेलले जेन-जीका लागि छिट्टै नयाँ ‘प्याक’ सार्वजनिक गर्ने र देशभरका १०० विद्यार्थीलाई एक करोड रुपैयाँ बराबरको जेन-जी छात्रवृत्ति घोषणा गर्ने तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ। त्यसका साथै, सगरमाथा क्षेत्रको गोखरसेपसम्म पाँच नयाँ टावर थपेर ‘फोरजी’ सेवा विस्तार गर्ने योजना पनि साझा गरिएको छ।

मन्त्री खरेलले हाल देखिएका केही नीतिगत र प्रशासनिक समस्याको समाधानका लागि सरकार गम्भीर रूपमा लागेको बताए। ‘यस्ता विवादहरू कानुनअनुसार समाधान हुनुपर्छ,’ मन्त्री खरेलले भने।

एनसेलका सीईओ माइकल फोलेले नेपालमा टेलिकम सेवाको स्तर अन्तर्राष्ट्रिय मापदण्डअनुसार अझै सुधार आवश्यक रहेको भन्दै नीतिगत सहजीकरणमा सरकारको ध्यानाकर्षण गराए।