आर्ट बसेलमा रोबोट कुकुरको धमाका : मस्क–जुकरबर्गको अनुहारसहित ‘एनएफटी दिसा’ फ्याँक्ने अनौठो कला प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाको मायामीमा भइरहेको विश्वकै प्रतिष्ठित कला मेला ‘आर्ट बसेल’मा यसपटक सबैको ध्यान तान्ने अनौठो दृश्य देखियो—भुइँभरि दौडिरहेका रोबोट कुकुर, तर अनुहार भने एलन मस्क, मार्क जुकरबर्ग, जेफ बेजोस, पाब्लो पिकासो, एन्डी वारहोलजस्ता विश्वप्रसिद्ध व्यक्तिका।

यी रोबोट कुकुर प्रसिद्ध डिजिटल कलाकार ‘बिपल’ (माइक विङ्केलम्यान) को नयाँ प्रोजेक्ट ‘रेगुलर एनिमल्स’ अन्तर्गत प्रदर्शनमा राखिएका हुन्। हाइपर–रियलिस्टिक सिलिकन अनुहार जडान गरिएका यी रोबोट कुकुरले दर्शकलाई हास्यास्पद र डरलाग्दो दुवै अनुभव दिए।

प्रदर्शनीमा मस्कको अनुहार भएको रोबोट ओठ चपाउँदै चलिरहेको थियो भने जुकरबर्ग र वारहोलको रोबोट एकअर्कासँग ठोक्किन पुगेका थिए। पिकासो अनुहार भएको कुकुर शान्त ढंगले वरिपरि हेर्दै उभिएको थियो।

सबैभन्दा अनौठो दृश्य– यी रोबोट बेलाबेलामा रोकिन्थे, पछाडि ढल्किन्थे र ‘दिसा’ गरेजस्तै परेका एनएफटी कलाकृति निकाल्थे। ढाडमा ‘PooP Mode’ लेखिएको स्क्रिन झल्कँदा दर्शक हाँसोमै डुब्थे। निकालेका ती प्रिन्टहरू वास्तवमा ब्लकचेनमा राखिने एनएफटी हुन्।

कलाकार बिपलका अनुसार यो कलाले भविष्य, प्रविधि र एल्गोरिदमले संसार हेर्ने हाम्रो तरिकालाई कसरी नियन्त्रण गर्छन् भन्ने सन्देश दिन्छ। प्रत्येक रोबोटले आफ्नो क्यामेराबाट तस्बिर खिच्छ र त्यसलाई पात्रको शैलीमा पुनः व्याख्या गर्छ—वारहोलको रोबोटले वारहोलकै शैलीमा, पिकासोको रोबोटले पिकासोकै दृष्टिले।

उनले भने, “पहिले कला कलाकारको आँखाबाट देखिन्थ्यो। अहिले मस्क र जुकरबर्गले नै हामी संसारलाई कसरी देख्छौं भन्ने ठूलो हिस्सा नियन्त्रण गर्छन्। यही विचारलाई यस कलामा उतारेका छौँ।”

बेजोसको रोबोटले केही ‘प्रिन्ट’ निकाल्दैन, तर बिपलका अनुसार उनले पनि संसार हेर्ने हाम्रो दृष्टिमा ठूलो प्रभाव पार्ने भएकाले ‘पात्र’ बन्नु आवश्यक थियो।

प्रदर्शनीको पहिलो घण्टामै सबै रोबोट कुकुर एक लाख डलरमा बिक्री भइसकेका थिए। तीन वर्षसम्म यी रोबोटले तस्बिर खिचेर ब्लकचेनमा सुरक्षित राख्नेछन्।

दर्शकहरूबीच प्रतिक्रिया मिश्रित देखियो—कतिले यसलाई “घिनलाग्दो” भने, कतिले “डरलाग्दो” भन्दै आलोचना गरे, तर धेरैले “बौद्धिक” र “शानदार” भन्दै प्रशंसा पनि गरे। अझ रोचक कुरा, प्रदर्शनी हेर्न आएका दुई वास्तविक कुकुरले यी रोबोट कुकुर देखेपछि डरले भुक्न थालेका थिए।

सन् २०२१ मा ६९.३ मिलियन डलरको डिजिटल कला बेचेर चर्चामा आएका बिपलले यसपटक पनि कलालाई नयाँ मोड दिँदै सबैलाई चकित पारेका छन्।