वरिष्ठ मौसमविद् विभूति पोखरेलले आज र भोलि नेपालको मौसम सामान्यतया सफा रहने भए पनि बिहीबारदेखि शनिबारसम्म बंगालको खाडीमा विकसित ‘अर्णब’ चक्रवातको प्रभाव पर्न सक्ने बताएकी छन्।
उनका अनुसार चक्रवात भारतको विशाखापट्टनम आसपास जमिनमा प्रवेश गरेपछि पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै कमजोर हुने पूर्वानुमान छ। नेपाल नजिक आइपुग्दा यसको शक्ति घटे पनि वर्षा र हिमपात गराउन सक्ने सम्भावना रहेको उनले बताइन्।
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै मौसम पूर्वानुमान महाशाखाले बिहीबार, शुक्रबार र शनिबारका लागि चेतावनी जारी गरेको छ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विशेषगरी उच्च हिमाली क्षेत्रमा भारी हिमपात, हिमपहिरो र हिमआँधीको जोखिम रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेकी छन्। पदयात्रामा रहेका पर्यटक तथा उच्च क्षेत्रमा रहेका व्यक्तिलाई मौसमको अवस्था बुझेर सुरक्षित स्थानमा बस्न र सम्भव भएसम्म तल्लो क्षेत्रमा झर्न सुझाव दिइएको छ।
धान काट्ने समय भएकाले वर्षाले कृषि क्षेत्रमा असर पार्न सक्ने भन्दै किसानलाई बिहीबारअघि नै धान काटेर सुरक्षित स्थानमा भित्र्याउन पनि आग्रह गरिएको छ।







प्रतिक्रिया