गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गर्दै गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत पहल गर्न आग्रह गरेका छन्।
भेटका क्रममा एनआरएनए पदाधिकारीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था भए पनि संविधानले सुनिश्चित गरेका अधिकारको पूर्ण उपयोगमा अझै कानुनी तथा व्यावहारिक जटिलता रहेको बताएका थिए। त्यसको समाधानका लागि गृह मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न उनीहरूले आग्रह गरे।
त्यस्तै, ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मान्यताअनुसार एकपटक वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले पछि विदेशी नागरिकता लिए पनि वंशजको नेपाली नागरिकताको निरन्तरता कायम रहने गरी स्पष्ट संवैधानिक तथा कानुनी व्यवस्था गर्नुपर्ने विषयमा छलफल भएको थियो।
सरकारले संविधान संशोधनका लागि छलफल अघि बढाइरहेको सन्दर्भमा गैरआवासीय नेपालीसँग सम्बन्धित नागरिकताको निरन्तरता तथा वंशजको नागरिकताको अधिकार संविधानमै स्पष्ट रूपमा सुनिश्चित गर्न आवश्यक पहल र समन्वय गर्न एनआरएनएले आग्रह गरेको थियो।
गृहमन्त्री गुरुङले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय र परामर्श गरी सकेसम्म छिटो आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। गैरआवासीय नेपालीका सरोकारका विषयमा सरकार सकारात्मक रहेको भन्दै उनले आवश्यक प्रक्रियाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए।
भेटका क्रममा एनआरएनएले विपद् व्यवस्थापन तथा मानवीय सहायता क्षेत्रमा संघले गर्दै आएको कामबारे पनि जानकारी गराएको थियो। भेटमा एनआरएनए महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), महासचिव डा. चिरञ्जीवी खड्का, महिला संयोजक रश्मि थापा, दोस्रो पुस्ता संयोजक दीपमाला ढकाल, पूर्वकोषाध्यक्ष प्रकाश पुन, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा सरोज दाहालको उपस्थिति थियो।







प्रतिक्रिया