काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति स्वागत गर्दै धन्यवाद दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रचण्डले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी भएको सुन्दा खुसी लागेको बताएका छन्। उनले उद्योग सञ्चालनमा आएपछि कपडा आयातमा रहेको निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रचण्डले आफू नेतृत्वको सरकारले हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार गराएको स्मरण गर्दै त्यसकै आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने योजना अघि बढाइएको उल्लेख गरेका छन्।
उनका अनुसार सघन गृहकार्यपछि अघि बढाइएको प्रक्रिया सरकारबाट बाहिरिएसँगै रोकिएको थियो। अहिले पुनः प्रक्रिया अघि बढ्नु सकारात्मक भएको भन्दै उनले सरकारलाई धन्यवाद दिएका हुन्।
प्रचण्डले हेटौँडा कपडा उद्योगसँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्। यस्ता उद्योगको पुनरुत्थानले उत्पादन बढाउने, आयात घटाउने र रोजगारी सिर्जना गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
यसअघि गत शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन सुरु भइसकेको जानकारी दिएका थिए। उनका अनुसार उद्योगबाट केही मात्रामा कपडा उत्पादनसमेत सुरु भएको छ।
उद्योगको परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको र परीक्षणपछि नेपाल सरकारले नै उद्योग सञ्चालन गर्ने तयारी गरेको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले वर्षौँदेखि बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योगहरूलाई पुनः आफ्नै खुट्टामा उभ्याउने सरकारको प्रयास रहेको बताएका छन्। उनले राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवित र प्रतिस्पर्धी बनाउन सरकारले सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकता दिएको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले यसअघि डीडीसीमा किसानको बक्यौता घटाइएको, नेपाल औषधि लिमिटेडले नाफा आर्जन गरेको, नेपाल वायुसेवा निगमको आम्दानी तथा सिट उपयोगिता बढेको र सिंहदरबार वैद्यखानाको उत्पादन तथा कारोबारमा वृद्धि भएको विवरणसमेत सार्वजनिक गरेका थिए।
राष्ट्रिय उद्योग पुनः सञ्चालनका लागि सरकारको पहल सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत त्यसको समर्थन जनाएका हुन्।







प्रतिक्रिया