दुई दिने सार्वजनिक बिदा हटाउने तयारीमा सरकार, शनिबार मात्रै बिदा कायम हुने संकेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था खारेज गर्ने तयारी गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार दुई दिने बिदा अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको निष्कर्षसहित सरकार पुरानै व्यवस्था फर्काउने तयारीमा जुटेको हो।

स्रोतका अनुसार आगामी मन्त्रिपरिषद् बैठकले यस विषयमा औपचारिक निर्णय गर्न सक्नेछ। निर्णय भएमा हाल कायम रहेको शनिबार र आइतबारको सार्वजनिक बिदा व्यवस्था अन्त्य भई पुनः शनिबार मात्रै सार्वजनिक बिदा कायम हुनेछ।

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने, सरकारी खर्च नियन्त्रण गर्ने तथा ऊर्जा बचत गर्ने उद्देश्यले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो। तत्कालीन मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा दिइँदै आएको थियो।

तर, कार्यान्वयनको केही समयपछि नै उक्त व्यवस्थाको प्रभावकारिता र व्यवहारिकतामाथि प्रश्न उठ्न थालेका थिए। सरकारी सेवा प्रवाहमा असर परेको, प्रशासनिक कामकाज प्रभावित भएको तथा बैंकिङ र निजी क्षेत्रको उत्पादकत्वमा अपेक्षित सुधार नदेखिएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको थियो।

सरकारी निकायहरूले गरेको मूल्याङ्कनमा सेवा प्रवाह प्रभावित भएको, कार्यालय समय व्यवस्थापन चुनौतीपूर्ण बनेको तथा आर्थिक गतिविधिमा समेत मिश्रित प्रभाव परेको निष्कर्ष निकालिएको बताइएको छ। त्यसैका आधारमा सरकारले पुरानै व्यवस्था पुनः लागू गर्ने तयारी गरेको स्रोतको दाबी छ।

यद्यपि, दुई दिने बिदा हटाउने विषयमा अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकबाट हुने जनाइएको छ। बैठकले अनुमोदन गरेपछि मात्रै नयाँ व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।