परराष्ट्रमन्त्री शिशिर खनाल भोलि भारत जाँदै, जयशंकरसँग द्विपक्षीय वार्ता हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जाने भएका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा हुने भ्रमण जुन ५ देखि ७ सम्म रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि जेठ २३ गते भारत भ्रमण तय गरिएको भए पनि अन्तिम समयमा भ्रमण तालिका एक दिन सारिएको थियो। मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष, व्यापार, लगानी, ऊर्जा सहयोग, कनेक्टिभिटी तथा दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल हुने बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको भारत भ्रमणलगत्तै हुन लागेको परराष्ट्रमन्त्री खनालको भ्रमणलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। भ्रमण सम्पन्न गरी मन्त्री खनाल आइतबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

यसअघि मन्त्री खनालले मौरिससमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका थिए।