बलात्कारको गम्भीर आरोप लागेका कलाकार सागर लम्साल ‘बले’ विरुद्ध पीडित युवतीले अमेरिकाको न्यूयोर्क सिटी मा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गराएकी छन्। परिवारका सदस्यका अनुसार नेपाल र अमेरिकाका कानुन व्यवसायीसँग छलफलपछि पीडित आफैँ प्रहरीसमक्ष उपस्थित भएर उजुरी दिएकी हुन्।
जाहेरी दर्ता भएसँगै अमेरिकी प्रहरीले घटनाबारे औपचारिक अनुसन्धान सुरु गरेको बताइएको छ। अब अमेरिकी र नेपाली सुरक्षा निकायबीच समन्वय गर्दै घटनाको थप अनुसन्धान अघि बढाइने जनाइएको छ।
यस घटनाले अन्तर्राष्ट्रिय रूप लिएको छ। नेपालमा पक्राउ परेका लम्साल हाल प्रहरी हिरासतमा छन्। प्रारम्भिक रूपमा उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा राखिए पनि घटनाको प्रकृति गम्भीर भएकाले थप कडा अभियोगतर्फ अनुसन्धान केन्द्रित हुन सक्ने संकेत गरिएको छ।
पीडित संगम विष्ट ले सामाजिक सञ्जालमार्फत आफू यौन हिंसाको सिकार भएको सार्वजनिक गरेपछि नेपालमा घटना व्यापक चर्चामा आएको थियो। त्यसपछि प्रहरीले लम्साललाई नियन्त्रणमा लिएको हो।
पीडित परिवारले दोषीमाथि कडा कारबाहीको माग गर्दै न्यायको अपेक्षा गरेका छन्। अमेरिकामा यौन अपराधमा कडा सजायको व्यवस्था रहेको छ भने नेपालमा पनि बलात्कारसम्बन्धी कानुन कडा रहेको छ।
हाल दुवै देशमा अनुसन्धान जारी रहेकाले अन्तिम निष्कर्ष आउन बाँकी छ। अदालतबाट दोषी वा निर्दोष ठहर भएपछि मात्र घटनाको कानुनी निष्कर्ष टुंगो लाग्नेछ।







प्रतिक्रिया