नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालको दूरसञ्चार क्षेत्रमा लामो समयदेखि उठ्दै आएका गुनासाहरूलाई ध्यानमा राख्दै नेपाल टेलिकम मा व्यापक सुधारका प्रयास सुरु भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना को निर्देशनमा कम्पनीले ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार ल्याउन ठोस कदम अघि बढाएको हो।

यसअन्तर्गत ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्दै १० बुँदे सुधारात्मक कार्ययोजना ल्याइएको छ। अब ग्राहक सेवा सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्य राखिएको छ।

सबैभन्दा महत्त्वपूर्ण सुधारमा ग्राहकको डेटा प्याक खपत भएपछि स्वतः मुख्य ब्यालेन्सबाट रकम काटिने प्रणाली बन्द गरिएको छ। यसको सट्टा ग्राहकले ९० प्रतिशत डेटा खपत भएपछि पूर्वसूचना पाउनेछन् र ‘पे–एज–यू–गो’ (PYG) विकल्पमार्फत प्याकेज बिना इन्टरनेट चलाउने वा नयाँ प्याकेज लिन स्वतन्त्र हुनेछ।

कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धर का अनुसार यो प्रणाली केही दिनभित्र पूर्ण रूपमा लागू हुनेछ। USSD मार्फत खरिद गरिने डाटा प्याकमा तीन–पाँच दिनभित्र, मोबाइल एपमार्फत सात–१० दिनभित्र उपलब्ध हुनेछ।

ग्राहक सेवा सुधारमा ‘वन टाइम केवाइसी’ प्रणाली पनि लागू हुने छ। यसले ग्राहकलाई सिम कार्ड लिन, नवीकरण गर्न वा अन्य सेवा लिन बारम्बार कागजात बुझाउन नपर्ने सुविधा दिनेछ।

डिजिटल रूपान्तरणमा जोड दिँदै नेपाल टेलिकमले ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति र सिम स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू पूर्ण रूपमा अनलाइन उपलब्ध गराउने तयारी गर्दैछ। यसले दुर्गम क्षेत्रका ग्राहकलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।

त्यस्तै, ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गरेर ग्राहकले सबै समस्याको समाधान एउटै ठाउँबाट पाउने व्यवस्था बनाउने योजना अघि सारिएको छ। फोरजी मोबाइल नेटवर्क सेवाको गुणस्तर सुधारको लागि आवश्यक नीतिगत सुधार र फ्रिक्वेन्सी उपलब्ध गराउने तयारी पनि भइरहेको मन्त्रालयले जनाएको छ।

यी सबै सुधार आगामी ३० दिनभित्र लागू गर्ने लक्ष्य राखिएको छ, जसले नेपाल टेलिकमका ग्राहकलाई छिटो, सरल र प्रभावकारी सेवा प्राप्त हुने विश्वास दिलाएको छ।