नेपालको विरोधबीच भारतद्वारा लिपुलेक हुँदै व्यापार मार्ग पुनः खोल्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालको आपत्तिका बाबजुद भारतले लिपुलेक पास हुँदै भारत–चीन व्यापार मार्ग पुनः सञ्चालन गर्ने घोषणा गरेको छ।

भारतको पिथौरागढका जिल्ला अधिकारी आशिष भटगानीका अनुसार उक्त व्यापार मार्ग आगामी जुन १ देखि पुनः खुला गरिनेछ। पाँच वर्षदेखि बन्द रहेको यो मार्ग खुल्दा व्यापारिक गतिविधि पुनः सुचारु हुने र व्यापारीहरूलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।

लिपुलेक पास नेपालले आफ्नो भूमि दाबी गर्दै आएको क्षेत्र हो, जुन लिम्पियाधुरा क्षेत्रभित्र पर्छ। नेपालले यसअघि पनि सो क्षेत्रमा भारत र चीनबीच भएको सहमति र गतिविधिप्रति असहमति जनाउँदै आएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतको विदेश मन्त्रालयले उक्त मार्ग सञ्चालनका लागि ‘नो अब्जेक्सन लेटर’ जारी गरिसकेको छ। विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्यसचिव आनन्द वर्धनलाई पत्र लेख्दै व्यापार पुनः सञ्चालनको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

यसअघि नेपाललाई जानकारी नदिई लिपुलेक हुँदै व्यापार गर्ने विषयमा भारत र चीनबीच समझदारी भएपछि नेपालले कूटनीतिक रूपमा विरोध जनाएको थियो।

लिपुलेक क्षेत्र लामो समयदेखि नेपाल–भारत सीमा विवादको केन्द्रमा रहँदै आएको छ। यस्तो अवस्थामा भारतको एकपक्षीय निर्णयले पुनः द्विपक्षीय सम्बन्धमा तनाव बढ्ने देखिएको छ।