काठमाडौं – फिल्म ‘बिगुल’ ले पत्रकार सम्मेलनमार्फत आफ्नो प्रचारप्रसार तथा प्रदर्शन तयारीबारे जानकारी गराएको छ। फिल्मको प्रवर्द्धनमा सामाजिक संस्था नेपाल जेसिजले सहकार्य गर्ने भएको छ।
पत्रकार सम्मेलनमा निर्माता दिनेश कोइराला र नेपाल जेसिजका अध्यक्ष जीवन कार्कीबीच सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको थियो। जेसिजले यसअघि फिल्मको मोफसल प्रचारप्रसारमा समेत सहयोग गरिसकेको छ।
निर्माता कोइरालाले जेसिजसँगको सहकार्यले आफूलाई थप ऊर्जा मिलेको बताए। ‘बिगुल’ भुइँमान्छे, युवापुस्ता, महिला र दबिएका आवाजको कथा भएको भन्दै उनले सबैको साथ र समर्थनको अपेक्षा गरे।
निर्देशक कोइरालाले वर्तमान राजनीतिक र सामाजिक यथार्थसँग मेल खाने कथा भएकाले ‘बिगुल’ नागरिकले हेर्नैपर्ने फिल्म भएको बताए। अभिनेता नीर शाहले यस्तो यथार्थपरक विषयमा फिल्म कम बन्ने गरेको उल्लेख गर्दै फिल्मको प्रशंसा गरे।
अभिनेत्री बेनिशा हमालले आफूले चुनौतीपूर्ण भूमिका निर्वाह गरेको बताइन् भने अभिनेता नरेन खड्काले जागरुक युवाको भूमिका खेलेको जानकारी दिए।
म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको फिल्ममा नीर शाह, बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, शिशिर बाङ्देल, गीता अधिकारीलगायत कलाकारको अभिनय छ। प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्मलाई शिव ढकालले छायांकन गरेका हुन्।
फिल्म राजधानीमा काफिया फिल्म्स् र मोफसलमा ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्नेछ।







प्रतिक्रिया